पूर्वराजा नारायणहिटि नफर्कने, प्रचण्ड–बाबुरामहरूलाई नै पाखा लगाएरै छोड्ने !


एस.के. लम्साल,

‘व्यक्तिगत सम्पतिका लोभीहरु कहिल्यै कम्युनिष्ट हुन सक्दैनन् ।’
‘जनताबाट सित्तैमा धागो पनि नलिऊ, पैंचो लिएको हरेक कुरा फिर्ता गर’ भन्छन् माओ । तर नेपाली कम्युनिष्ट शासकहरु उल्टो गरिरहेका छन् । नवसामन्तको झल्को दिने गरी रवाफि जीवनशैली बिताइरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका समयमा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिइएको भन्दै वकवक गरिरहे नागार्जुनबाट निकाल्ने चेतावनी प्रचण्डले दिएसँगै देशमा छुट्टै तरङ्गसँगसँगै बहस पैदा भएको छ । के साँच्चै राजा शक्तिशाली हुँदै गएकाले प्रचण्डहरु त्रसित र भयभित भएका हुन् ? वा दुई तिहाइको शक्ति र सत्ता हातमा हुँदाहुँदै जनचाहाना अनुरूपका कार्यहरू पूरा गर्न नसकेर मस्ति गल्दै गएको हो ? एउटा सामान्य नागरिक सरहको व्यक्तिका विषयलाई लिएर आत्तिनै पर्ने कुनै कारणहरू छन् ?

०६२÷६३ को जनआन्दोलन कै क्रममा पूर्वराजा ज्ञानेन्द्रले दलहरुले नै भनेअनुसार सहमति गरेर श्रीपेच, राजदण्ड र राज्य त्याग गरेका थिए । तर दलहरूले सहमति गरे बमोजिम जनतालाई अमनचयन, सुख, शान्ति, समृद्धि दिन नसकेर देश र जनतालाई धोका दिएको जनाएका छन् । त्यसो त देश र जनताको हित हुन्छ भने आफूले राजगद्दी त्यागेकै जाती हुन्छ भनेर नै बिना बलजफत राज्य त्यागेर नागार्जुन जंगल पसेका राजाले राजगद्दीको मोह गरेको देखिदैन ।

विदेशी खुफिया एजेन्टको एउटा सामान्य कर्मचारी नेपाल आउँदा लर्बराउँदै स्वाँ–स्वाँ र फ्वाँ–फ्वाँ गर्दै भेट्न पुग्ने लिखुरेहरुबाट समाजवाद कहिल्यै आउँदैन । नेपालमा दलका नेताहरूको कार्यशैली र व्यवहारले गर्दा राजाको स्थान सुरक्षित हँदै गएको देखिन्छ । राजा बाहिर निस्कदा तिसौं हजार जनताको भीड लाग्नु तर राष्ट्रपति र ठुला नेता बाहिर जाँदा सामान्य उपस्थिति मात्र हुनुले राजाप्रतिको मोह र क्रेज स्पष्ट झल्कन्छ । आफूले जे गरे पनि ठिक हुने, अरुले जति नै राम्रो गरे पनि बेठिक हुने राजनीतिक नेताहरुको सोच राम्रो होइन । पृथ्वीनारायण शाह, जो आफैं बालबाल बचेर यो देशको निर्माण गरे उसैमाथि धारे हाल लगायौं । छिमेकी बंगालका शासकहरूले ब्रिटिशसँग दलाली गरे । सिक्किमी नेताहरूले गद्दारी र घात गरे । त्यतिबेलाका नेपाली राजाहरूले देशलाई कहिल्यै गद्दारी गरेनन्, देशलाई यहाँसम्म ल्याईदिए । छिमेकमा ब्रिटिशहरूले साम्राज्य खडा गरिरहँदा नेपालमा टुक्रे राज्यहरु थिए, तीनलाई मिलाएर एउटा सिङ्गो नेपाल बनाए । त्यतिखेरै ब्रिटिशहरुले नेपालमा आँखा गाडेर बसेका थिए । तत्कालिन राजाले देशलाई बचाए ।

राजसंस्थाको १५० वर्षको इतिहासमा जम्माजम्मी ८ करोड रुपैयाँ औषधी उपचारमा खर्च गरेको पाइन्छ । केपी ओलीकै पालामा २५ करोड भन्दा बढी खर्च हुनुले के देखाउँछ ? प्रचण्डले त आफ्नै नेता कार्यकर्ताहरूलाई पचासौं करोड बाडेका तथ्यहरू सार्वजनिक भए । नेताहरूको भड्किलो जीवनशैलीले भनिरहेको छ – ‘नेपाली नेतृत्वले चरित्रमा सुधार ल्याउनु जरुरी छ या अन्त्य हुनुको विकल्प छैन ।’ यही कार्यशैलीले नेपालमा समाजवाद कहिल्यै आउँदैन यो पक्का छ । हाम्रो पुस्तालाई जीवनमरणको दोसाधमा अल्मल्याइएको छ । हाम्रा लागि यो जीवनमरणको प्रश्न भएको छ ।
पुर्खाले निर्माण गरेको यो देश भोलीका पिढीलाई कुशलतापूर्वक हस्तान्तरण गर्न सक्छौ ? यो गम्भिर प्रश्न हो ।

नेपाललाई हिन्दुराज्य बनाउनुपर्छ भन्ने आवाजहरु बुलन्द हुँदै आएका छन् । भारतीय शासकहरु खुलेर हिन्दुराज्य बनाउन लागी परेका छन् । पशुपतिनाथ दर्शन गर्ने खर्च राज्य सरकारले नै बेहोर्ने निर्णय गरेका छन् । नेपालकै कम्युनिष्ट तथा गैर कम्युनिष्टहरू पनि संगठित हुँदै हिन्दुराज्य र राजसंस्थाको पक्षमा देखिनु संघीय लोकतान्त्रिक गणतन्त्रका लागि खतरा हुन सक्छ ।
हिन्दु राज्य चाहनेहरूले भारत, राजावादी, पूर्वराजाका समर्थकहरू, राप्रपा, ने.का., विद्रोही शक्तिहरू तथा गैरकम्युनिष्टहरू सहितको खुफिया आन्तरिक चलखेलले नेपालमा गम्भिर राजनीतिक परिवर्तनको खेललाई उजागर गरिरहेको छ । दलका नेताहरूलाई भन्दा पूर्वराजालाई सामाजिक प्रतिष्ठा उच्चमतम हुनुले अझै राजतन्त्र भन्नेहरु बलिया हुन कि भन्ने भान हुन्छ ।
कम्युनिष्टका महान नेता भन्छन् – व्यक्तिगत सम्पतिका लोभीहरु कहिल्यै कम्युनिष्ट हुन सक्दैनन् । कम्युनिष्टहरू महंगो गाडि चढ्छन्, प्लेन चार्टर गरेर घुम्न जान्छन्, महलमा बस्छन् । ‘जनताबाट सित्तैमा धागो पनि नलिऊ, पैंचो लिएको हरेक कुरा फिर्ता गर’ भन्छन् माओ । तर नेपाली कम्युनिष्ट शासकहरु उल्टो गरिरहेका छन् ।

नेपालमा राजनीति सिद्धान्तबाट होइन, स्वार्थबाट चलाईरहेका छन् । ‘राजनीतिमा जे पनि जायज हुन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन’ जस्ता कुतर्कलाई स्थापित गराएर नेपाली राजनीतिलाई बदनाम गराइएको छ ।
देश बदल्ने सपना देखाएर, विभिन्न जातजाती, भाषाभाषी, अल्पसंख्यक, गरिबनिमुखा, सर्वहारा वर्गको उत्थानका नारा लिएर दश वर्षे सशस्त्र द्वन्द्वमा सँगै हिडाएकाहरुको स्थिति आज के छ ? विप्लवहरू आज किन विद्रोहको आगो बोकिरहेका छन् ? दमन र प्रतिबन्धले विप्लवहरु सहि बाटोमा आउलान ? मोहन वैद्य किरण कहाँ छन ? दश वर्षे जनयुद्ध लडेका योद्धाहरू सँगै छन या छैनन ? के कारण बिच्के जनयुद्धका घटकहरू ? हजारौं घाइते र अपाङ्गहरू, सत्र हजार नेपालीहरूको बलिदानको अपमान पो भयो कि ! सहयोद्धाको दुखेको मनमा मल्हम लगाउने दम प्रचण्डमा हुनुपर्छ ।
नेपाल सधैं राजा र राज संस्थाका कारणले गरिब भईरह्यो, राजनीतिक कारणले देश समृद्ध भएन भनेर विभिन्न व्यवस्थाका विरुद्धमा पटक–पटक बलिदानीसहित जनआन्दोलन गरेर परिवर्तन गरे । तर जनताले कहिल्यै परिवर्तनको महसुस गरी आत्मसन्तुष्टि पाउन सकेनन् ।
६८ लाख युवा खाडिको ५४÷५५ डिग्रिको तातो घामको रापमा पसिना बगाईरहेको छ । यता उब्जाउयोग्य जमिन जनशक्ति नपाएर रोइरहेको छ, भारतबाट आयात हुने विषाधीयुक्त तरकारी, फलफुल खान बाध्य छन् नेपालीहरू । प्लस टु गरेपछि लाखौं विद्यार्थीहरू पढाईको नाममा विदेशीइ रहेका छन् । देशमा भएका पुराना उद्योग कलकारखाना, ट्रलि बस, कागज उद्योग लगायत सबकासब उद्योगहरू ध्वस्त पारियो ।
आयातभन्दा निर्यात धान्नै नसक्ने गरी उकालो लाग्दै जानु, भ्रष्टाचारका काण्डहरू एकपछि अर्काे मौलाउँदै जानु, स्थानीय सरकार देखि प्रदेश र केन्द्र सरकारहरू राजशी ठाँटमा सुविधाभोगी हुनु, भ्रष्टाचार निर्मुल गर्नै निकाय, न्याय सम्पादन गर्ने निकायहरू आफैं अनियमितता र भ्रष्टाचारको निचतम् बिन्दुमा पुग्नु, प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति नै प्रतिबन्ध लगाउनुपर्ने मनस्थितिमा सरकार पुग्नु, पुराना शासकहरूले जोगाएर राखेका सार्वजनिक सम्पतिहरूमा कम्यनिष्ट पार्टिकै महासचिव संलग्न हुनु, जनताको कर उठाउने कर प्रशासकहरूनै भ्रटाचारमा लिप्त भई अर्बाै भ्रष्टाचार गर्नु, प्रहरी प्रशासन उच्च राजनीतिक नेता, कार्यकर्ता क्विन्टलका क्विन्टल सुन तस्करीमा संलग्न हुनु, राज्य र नीति निर्माण तहमा संलग्न भई नीतिगत भ्रष्टाचार मौलाउनु, ठुला ठुला योजनाहरू दशकौदेखि अलपत्र हुनु, विभिन्न ठेक्कापट्टाका कामहरू कमसल हुनु, भएगरेका काम पनि गुणस्तरहिन हुनु, स्वदेशी उद्योगधन्दा सञ्चालनमा ध्यान नदिनु, बाटोघाटो तथा विकास निर्माणका नाममा आफ्ना वरपरका चण्डमुण्डहरूलाई पालितपोषित गर्नु, स्थानीय सरकारका जनप्रतिनीधिहरु नै आफ्ना छोराभतिजालाई ठेक्कापट्टामा संलग्न गराएर करोडौं भ्रष्टाचारको जालो बनाउनु जस्ता घटिया कार्यले देश झन–झन दलदलमा फस्दै गएको छ । यस्ता कार्यले ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने नारा साकार हुँदैन भन्ने मनोविज्ञान बढिरहेको छ ।
दुईतिहाइ सरकारले सपना देखाएको तर सपना पूरा गर्नेतर्फ ध्यान नदिएको मनोवृत्तिले नेपाली जनताहरू अलमलमा देखिन्छन् ।
नेपालको अर्थतन्त्रमा उद्योग वा उत्पादनको हिस्सा कम हुनु, वैदेशिक व्यापार घाटा आकाश र पाताल हुनुले देश टाट पल्टने स्थिति हुनसक्छ । मुलुकलाई आत्मनिर्भर बनाउन नसके समृद्धि आउँदैन । संघीयता मुलुकले धान्नै नसक्ने स्थितिमा पुगेको विभिन्न आर्थिक सुचकाङ्कले देखाउँछ । जनतालाई देखाइएको समृद्धिको सपना पूरा नगरे नेपाली जनताले सडकबाट आन्दोलन गरेर जसरी पूर्वराजालाई नागार्जुन (वनबास) पठाएका थिए, त्यसैगरी नेतागणलाई पनि सडकबाटै लखेट्न सक्छन् । त्यसैले सरकारका लागि अझै सयम छ, सुधारका लागि ।
अहिलेका सत्ताधारी राजनीतिक दलका कार्य शैलीले पश्चगमनलाई बढावा दिईरहेका छन् । अनि जनता भनिरहेका छन् – ‘राजा, तिमि नागार्जुनबाट कुलेलाम ठोक, नारायणाहिटी जाऊ ।’
राजनीतिक तवरबाट हुनुपर्ने सम्बन्धहरू सामान्य कर्मचारीको तहबाट हुनुले कुटनीतिक क्षेत्रमा नेपालका साख खस्कदै गएको पुष्टि खुफिया सामन्त गोयलको भ्रमणले गर्दछ । १९५० का सन्धीहरू पुनरावलोकन गराउन नसक्नु, ब्रिटिश शासकहरूले नेपाललाई फिर्ता दिनुपर्ने ग्रेटर नेपालको भू–भाग भारतबाट फिर्ता माग्न नसक्नुले नेपाली शासकहरू भारतप्रति निरिह भएको देखिन्छ । देशका महत्वपूर्ण भू–भाग लिपुलेक, कालापानी, टनकपुर जस्ता ठाउँ भारतले लैजादा बोल्न नसक्नु, अनि सिमाना एकपक्षीय रुपले भारतले लगाएको उच्च बाँध र सडकले हिउँदमा सुख्खा अनि वर्षामा डुबान भईरहँदा नेपाली पक्ष कमजोर भएर प्रस्तुत हुनु एउटा सार्वभौम र स्वतन्त्र देशका लागि लज्जाको विषय हो । यो पाच्य हुन सक्दैन ।
तीनै तहका सरकारहरू राजारजौटाहरूकै शैलीमा नवसामन्तहरू जस्तै देखिनु, जनताको अभिमतलाई ख्यालै नगरी सामन्ती रवाफमा भड्किलो जीवनशैली र आचरणले नेपाली जनमा राजसंस्था प्रतिको आकर्षणलाई बल प्रदान गरेको छ ।
विदेशी डलर मोहमा विदेशी धर्म प्रचार गर्दै नेपाली धर्म र संस्कृतिमाथि प्रहार गर्दै जानु, नेपाललाई विदेशीको प्रयोगशालाका रूपमा प्रयोग गरिनु नेपालीका लागी राम्रो होइन ।
नेपाली समाजमा राजनीति गर्नेहरु चाहेर पनि सत्यलाई सत्य, झुटलाई झुट हो भन्न सक्ने मनोबल बढाउन नसक्नुले पनि नेपाली राजनीतिज्ञहरु अराजकताका बाटोतर्फ उन्मुख भएको देखिन्छ । यही उकुसमुकुसले कतै विष्फोट त गराउने हैन ? भन्ने आशंका जन्माएको छ ।
सामान्य जनताबाट बाख्रापाठा, कुखुराका चल्ला बेचेबापत कर असुल्ने, ठुला व्यापारिक घरानाहरू तथा ठुला–ठुला कम्पनीहरूले चुनावमा दलहरुलाई चन्दा दिएकै भरमा अर्बौ कर मिनाहा गरिदिने जस्ता कार्यले देश नै असफलतातिर जान सक्ने विज्ञहरू अनुमान गर्दछन् । तसर्थ सरकारले आफूबाटै कटिबद्ध भएर अनेकौ बाधा र अर्चनलाई चिरेर समृद्धिको बाटोतर्फ लाग्नुको विकल्प छैन ।
दुईतिहाइको सरकार दौडन खोजिरहेको देखिन्छ, तर दौडन सकेको छैन । पुराना र भ्रष्ट कर्मचारी संयन्त्र, गलत कार्यशैली, अनावश्यक राजनैतिक हस्तक्षेप, राम्रा र क्षमतावान भन्दा हाम्रा र आसेपासेहरूलाई अवसर, राज्य सञ्चालन गर्ने निकायमा काम गरेर अनुभव हासिल गरेका र विषयविज्ञहरूको परामर्शबिनै अल्पविद्या भएकाहरूबाट राज्य तथा प्रशासनिक संरचना सञ्चालन हुनु दुखद छ ।

पूर्व बाल सैन्य लेनिन विष्टले अन्र्तराष्ट्रिय अदालत ‘हेग’ मा पु¥याउने अभियान चलाईरहँदा प्रचण्डले आफू अन्र्तराष्ट्रिय अदालत ‘हेग’ गई विश्वकै नजरमा ‘हिरो’ भएर फर्कने अभिव्यक्ति दिएका थिए । तर प्रचण्ड, बाबुराम विरोधीहरु प्रचण्डहरुलाई अन्र्तराष्ट्रिय निकायहरुबाट कारवाही गरेर छोड्ने बताउँदै आएका छन् । यसको सामना कसरी गर्नेछन, हेर्न बाँकी नै छ ।

अतः दुईतिहाईको सरकारले कर्मचारी संयन्त्रमा आमुल परिवर्तन, राजनीतिक नियुक्तिमा दक्षता र क्षमता भएका, काम गरेर जानेका र विज्ञता हासिल गरेका हरेक क्षेत्रका विषयविज्ञहरुलाई बोलाएर देश निर्माणको खाका कोर्न लगाउने, समाजसेवा गर्न सक्ने हैसियत भएकाहरुले मात्र राजनीति गर्ने, राजनीतिज्ञले देशको मुल नीति निर्माण गर्ने, भ्रष्टचार र अनियमितताको समुल नष्ट गर्न राजनीतिज्ञ आफैं शुद्ध हुनु जरुरी छ । दुईतिहाइको सरकारलाई विकास र समृद्धिको बाधक तत्व कुनकुन हुन, ती तत्वहरुलाई ठाउँका ठाउँ कारवाही गर्ने, समयमा काम नगर्ने, भ्रष्टचार तथा ढिलासुस्ती गर्नेलाई बर्खास्त गर्ने, समयमै काम पूरा नगर्ने ठेकेदारहरुलाई ठाउँका ठाउँ कारवाही गर्न सरकारलाई कसले रोकेको छ ? अरुलाई दोष देखाएर आफ्नो कमजोरीको ढाकछोप गर्नु देशबासीलाई घात गर्नु सरह हो । त्यसैले सरकार ! यी सबै कमीकमजोरीहरुलाई निवारण गरेर ‘सुखी नेपाली समृद्ध नेपाल’ को परिकल्पनालाई साकार पार्न, प्रतिगमनकारी तत्वहरुलाई परास्त गर्न शालीन र भद्र भएर, गफ हैन काम गरेर नेपाली जनताको मन जित्नु भलाई हुनेछ ।
जनताको छोरा वा छोरी राष्ट्रप्रमुख हुन पाउनु नेपालीको लागि गर्वको कुरो हो, यसलाई अझै ओजस्वी बनाउनु अवसरसँगै चुनौती पनि हो । पुर्खाले निर्माण गरेको यो देश भोलीका पिढीलाई कुशलतापूर्वक हस्तान्तरण गर्न सक्नु नै नेपाली राजनीतिको उपलब्धी हुनेछ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि