तरुण दलबाट एमालेका वडा सदस्यको अन्त्येष्टि


बुटवल । एमाले स्थानीय नेता एवं बुटवल उपमहानगरपालिका-७ का वडा सदस्य नवीन थापा मगरको अन्त्येष्टि नेपाली कांग्रेसको युवा संगठन तरुण दलले गरेको छ । उनको दुई दिनअघि मृत्यु भएको थियो ।
एमालेका स्थानीय नेता कार्यकर्ता अन्त्येष्टीमा नआएपछि तरुण दलका कार्यकर्ताले नै कम्युनिष्ट पार्टीको झण्डा ओढाएर बुटवलको मगरघाटमा अन्तिम श्रद्धाञ्जली दिएको बताइएको छ । ४४ वर्षका थापाको अस्पतालमा बेड खोज्दाखोज्दै नपाएर युनिभर्सल मेडिकल कलेजको प्रांगणमा एम्बुलेन्समै मृत्यु भएको थियो ।
‘मेडिकल कलेजबाट आज मगरघाटमा शव ल्याएपछि एमालेका युवा नेताहरु मनोज गौचन, केशव कार्की लगायतलाई थोरै जना भएपनि आउन बोलायौं तर आएनन्’ कांग्रेस युवा नेता मुक्तिराज पौडेलले भने, ‘धेरै प्रयासपछि कृष्ण कुमालले झण्डा ल्याएर छाडेर जानुभयो, त्यसपछि तरुण दलका वडा अध्यक्ष रवि गौचनले कम्युनिष्ट पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली दिनुभयो ।’
मृतकका भान्जा ज्वाईं हरि क्षेत्रीले एमालेको इमान्दार सिपाही भएपनि पार्टीबाट एकजना पनि अन्त्येष्टीमा नआउँदा दुःख लागेको तर फरक दलका युवाहरुले न्याय दिएको बताए । एमालेका स्थानीय नेता मेघराज भट्टराईले धेरैजसो नेता कोरोना संक्रमित भएका र बाँकी कोरोना संक्रमणको जोखिम भएकाले अन्त्येष्टीमा जान नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि