नेपालमा कोरोना भाइरसको स्थिति भयावह हुने संकेत
मिडिया क्लब नेपाल, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । साथै सातायता मृत्यु हुनेको संख्या पनि बढेको छ । हालसम्म कोरोना भाइरसको संक्रमणका कारणले ५८ जनाले ज्यान गुमाइसकेका छन् ।
मंगलबार मात्रै काठमाडौं उपत्यकामा ६२ जनामा सहित २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका ४८ जना, भक्तपुरका १३ जना र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा भक्तपुरका ११ जना, काठमाडौंका ३८ जनामा कोरोना पुष्टि भएको हो ।
हिजो उपत्यकामा ५१ जना संक्रमित थपिएका थिए। त्यसैगरी आइतबार ३१ जना संक्रमित थपिएका थिए।
नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार २६ पुगेको छ ।