२९ असार २०८२, आइतबार / Sun Jul 13, 2025

भारतको क्रिकेट रंगशालामा भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु


बेंगलुरुमा आरसीबीको विजय जुलुसमा भागदौड, कम्तिमा १० जनाको मृत्यु!!
भारतीय शहर बेंगलुरुमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) जितेको खुसीयालीमा निकालिएको विजय जुलुसका क्रममा चिन्नास्वामी रंगशाला बाहिर भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको छ।
आरसीबीले आईपीएलको फाइनलमा पञ्जाब किंग्सलाई पराजित गरेपछि बुधबार टोलीको स्वागत तथा विजयोत्सव मनाउन हजारौं मानिसहरू सडकमा उत्रिएका थिए।
एक वरिष्ठ प्रहरी अधिकारीले बीबीसी हिन्दीलाई बताएअनुसार, “चिन्नास्वामी रंगशालाको ढोकामा भएको भागदौडमा करिब १० जनाको मृत्यु भएको छ।” उनका अनुसार, दुर्घटना हुँदा रंगशालाको ढोका खोलिएको थिएन र सानो ढोकाबाट धेरै मानिसहरू एकैपटक भित्र पस्न खोज्दा भागदौड मच्चिएको थियो।
एक प्रहरी अधिकारीले बीबीसीलाई बताएअनुसार विजय जुलुसमा दुई लाखभन्दा बढी मानिस सहभागी थिए, जबकि प्रहरीले त्यसको आधा संख्या मात्र अनुमान गरेको थियो।
यसअघि, आरसीबी टोली विशेष उडानबाट पुरानो एचएएल विमानस्थलमा अवतरण गरेको थियो, जहाँ कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले उनीहरुलाई स्वागत गरेका थिए। त्यसपछि टोलीलाई जुलुससहित होटल लगिएको थियो।
उनीहरुलाई राज्यको विधान सभा भवन, विधान सौधको सिँढीमा राज्यपाल थावरचन्द गहलोत, मुख्यमन्त्री सिद्धरामय्या र अन्य मन्त्रीहरूले स्वागत गर्ने कार्यक्रम तय गरिएको थियो। त्यसपछि टोली पुनः जुलुससहित रंगशाला जाने कार्यक्रम थियो।
घटना हुनुभन्दा अघि शहरका विभिन्न स्थानबाट आरसीबीको जर्सी लगाएका समर्थकहरूको ठूलो भीड विभिन्न यातायातका साधनमार्फत रंगशालातर्फ ओइरिएको थियो।
मेट्रो रेलहरू खचाखच भरिएका थिए, जसका कारण संवाददातासहित धेरै मानिस डिब्बाभित्र पस्न सकेनन्। रेलभित्र र बाहिर यात्रुहरूले टोलीको समर्थनमा नारा लगाइरहेका थिए। अटो रिक्सा र ट्याक्सीहरूले रंगशाला नजिक यात्रु ओराल्न अस्वीकार गरेका थिए, र कतिपयले यात्रुहरूलाई किलोमिटरौं टाढा नै छोडिदिन्थे।
दुर्घटनामा ज्यान गुमाउनेहरूको खबर फैलिएपछि मानिसहरू त्रसित हुँदै मेट्रो स्टेशनतर्फ भाग्न थाले। प्लेटफर्महरूमा अत्यधिक भीड जम्मा भएपछि अधिकारीहरूले रंगशाला वरपरका मेट्रो स्टेशनहरू बन्द गरेका थिए।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि