भारतसँग नयाँ नक्सा र राम जन्मभूमि विवादपछि बंगलादेशसँग मल पैचो
मिडिया क्लब नेपाल, काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग गत मंगलबार नेपाललाई खाँचो परेको भन्दै ५० हजार मेट्रिकटन मल पैँचो मागे । बंगलादेशकी प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको प्रधानमन्त्रीले सोही दिन ट्वीटरमार्फत जानकारी दिएका थिए ।
दुई देशका प्रधानमन्त्री तहमा भएको छलफलपछि किसानमा मल पाइने आशा जगाएको छ ।
तर निकट छिमेकी भारत र चीनलाई छोडेर बंगलादेशकाट मल सापट लिन किन खोज्यो भन्ने चासो बढ्दै गएको छ ।
नक्सा जारी र राम जन्मभूमिको विवादपछि नेपाल र भारतको सम्वन्ध चिसिएको मात्रै छैन, संवाद पातलिएको अवस्था छ । कितपय विश्लेषकले यही आँकलन गरेका छन् ।
दुवै देशका प्रधानमन्त्रीबीच मल लिन र दिन सहमति भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल ल्याउने तयारी तीव्र पारेको छ । मन्त्रालयका अनुसार दुई प्रधानमन्त्रीले कुरा गरेको दिनको १४औँ दिनभित्र मल ल्याई पु¥याउने गरी कार्यदल बनाएर काम अघि बढाइएको बताइएको छ ।
बंगलादेशलाई पछि फिर्ता दिन सजिलो होस भनेर मलको गुणस्तर र प्याकेजिङको लेबलसमेत समेटिने गरी सम्झौताको खाका बनाइँदै छ । मल लिने समझदारी दुई देशका कुन तह र निकायबाट गर्ने भन्ने विषयमा कार्यदलले काम गरिरहेको छ । ढाकास्थित नेपाली राजदूत, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेशन वा वाणिज्यस्तरमा रहेको सहसचिव तहबाट बंगलादेशी समकक्षीसँग मल लिन सम्झौता गरिने मन्त्रालयले जनाएको छ ।