सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली आफैं ‘निम्छरा’ !
काठमाडौं । सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आफैं ‘निम्छरा’ बनेका छन् । कोभिड–१९ को नियन्त्रण, राजनैतिक उपलब्धिहरूको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरू बढ्दै गएपछि संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्न बालुवाटारमा बोलाइएको बैठकमा सत्तारुढ बाहेक दलका नेताहरुले सरकारकै कारण मुलुकमा अराजकता मौलाउन थालेको धारणा राखेपछि प्रधानमन्त्री निरीह बन्न पुगेका थिए । ३ घण्टा चलेको बैठकको सुरूमै प्रधानमन्त्री ओलीले छलफलका विषयबस्तुबारे प्रकाश पार्दै सहभागीहरुको धारणा मागेका थिए ।
त्यसपछि बोल्ने राजनीतिक दलका नेताहरुले सरकारको कार्यशैली, व्यवहार र संविधान कार्यन्वयनमा देखाएको बेवास्ताका कारण विभिन्न स्वार्थ समूहका नाममा सडक आन्दोलन, हिंसा र अराजकता बढ्न पुगेको भन्दै सरकारको चर्काे आलोचना गरेका थिए । बैटकमा सहभागी सत्तारुढ दलका तर्फबाट पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाललाई बोलाइए पनि उनीहरुलाई बोल्नका लागि समय भने छुट्याइएको थिएन ।
‘हामीले तीन घण्टासम्म अरुले बोलेका मात्रै सुन्यौ’ पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले भने । खनालले थपे, ‘सरकारले ठिक ढंगले काम गर्न नसकेको, संविधानको सहि कार्यान्वयन हुन नसकेको, संघीयताको सहि कार्यन्वयन गर्न नसकेको, जनताको आर्थिक विकास गर्न नसक्दा जनता असन्तुष्ट छन् । यो असन्तुष्टिलाई प्रतिगामीहरुले उपयोग गरे भन्ने धारणा आएको सुनियो । तर सबैले सरकारकै आलोचना गरेपछि प्रधानमन्त्री ‘निम्छरा’ बन्न पुगे ।’
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा देखिएको प्रदर्शन सरकारको कार्यशैली प्रतिको असन्तुष्टि हो भन्दै संविधानको मर्मअनुसार नचल्दा सडकमा असन्तुष्टि पोखेको बताए । देउवा बैठक नसकिँदै आफुले धारणा राखिसकेपछि बालुवाटारबाट बाहिरिएका थिए । काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकमा आफुहरुले सरकार सच्चिए र संविधानआनुसार चले धेरै समस्या आफैं समाधान हुँदै जाने धारणा राखेको प्रतिक्रिया दिए । सडकमा राजावादीदेखि लिएर अन्य समूहहरुले प्रदर्शन गर्नुमा पनि सरकारको गलत कार्यशैली र भ्रष्टाचार मैत्री राज्य संयन्त्र जिम्मेवार रहेको धारणा काँग्रेसले राखेको थियो ।
राष्ट्यि जनमोर्चाका महासचिव जनकराज शर्माले सरकारका कार्यशैलीहरुको व्यापक चर्चा भएको भन्दै भ्रष्टाचार बढेको, अनियमितता भएको र प्रतिगामीहरुले राष्ट्रियता र गणतन्त्रमाथि जसरी धावा बोल्नुमा सरकारकै कार्यशैली जिम्मेवार रहेको धारणा राखेका थिए । ‘सरकारको कार्यशैलीको परिणाम र त्यसबाट उत्पन्न असन्तुष्टिहरुबाटै समस्या आएका हुन भनेर धारणा राख्यौ’, शर्माले बताए ।
बैठकमा पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका नेता तथा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खानाल, माधवकुमार नेपाल, वामदेव गौतम, पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री बिष्णु पौडेल सहभागी थिए । त्यस्तै काँग्रेसका नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महत सहभागी थिए । जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी बैठकमा राप्रपाका नेता दिपक बोहरा र जनमोर्चाका जनकराज शर्मा तथा नेमकिपाका प्रेम सुवाल पनि सहभागी थिए ।