‘राजावादीको आन्दोलन : जसले इतिहास दोहोर्याउन सक्छ !’
काठमाडौं । हरेक आन्दोलनका पछाडि एउटा संगठित शक्ति वा पार्टीको ‘ब्याकअप’ हुनैपर्छ । र, आन्दोलनमा एउटा ‘करिस्म्याटिक’ नेतृत्वको टिम पनि हुनैपर्छ । तबमात्रै आन्दोलनले राजनीतिक क्रान्तिको आकार लिन सक्छ । तर, अहिले नेपालका मुख्य शहरहरुमा भइरहेका राजावादी आन्दोलनहरुमा राजावादीका सर्वस्वीकार्य नेता (राजा) छैन ।
राप्रपासँग पार्टी त छ, तर सडकमा च्याउजसरी उत्रेका राजावादीहरुले कमल थापालाई नै अवसरवादी भनिरहेका छन् । एकले अर्काेलाई स्वीकार्ने स्थिति छैन । हरेक प्रदर्शनमा छोटेराजाको बिगबिगी छ । राप्रपा वा कमल थापालाई किनारा लगाएर हामी आफैं राजतन्त्र फर्काउँछौं भने जसरी नयाँ छोटेराजाहरु तात्तिरहेका छन् ।
राप्रपाले आफूलाई विस्तारै सेन्टरबाट दक्षिणपन्थतिर धकेलेर अहिलेको आन्दोलनलाई आगामी चुनावमा फल खाने माध्यम बनाउन खोजिरहेको देखिन्छ । यो अवस्थामा राजावादीहरुसँग नेतृत्वको चरम संकट देखिन्छ । सर्वस्वीकार्य एवं ‘करिस्म्याटिक’ नेतृत्वको खडेरीकै कारण राजावादीहरुको सडक आन्दोलन पानीको फोकोजस्तो उठ्दै फुट्दै गर्ने सम्भावना नै बढी देखिन्छ ।
ज्ञानेन्द्र र पारस लोकप्रिय नदेखिएकैले राजावादीहरुले हिमानी शाह वा अवोध हृदयेन्द्र शाहलाई भावी राजाका रुपमा देखाउनु परिरहेको छ, जुन आम जनतालाई परिवर्तनको आभाष गराउन सक्ने विकल्प होइन । सामाजिक सञ्जालमा कतिपयले भनिरहेको सुनिन्छ – अब हिमानीलाई राष्ट्र प्रमुख बनाउनुपर्छ, पारसलाई होइन, उनका छोरा हृदयेन्द्रलाई बनाउनुपर्छ ।
तर, सेना र सम्पूर्ण अधिकार आफ्नै हातमा रहेका पूर्वराजा ज्ञानेन्द्र वा दुईतिहाई जनताको समर्थन रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सम्हाल्न नसकेको देश अब अवोध किशोर हृदयेन्द्र शाहले कसरी सम्हाल्न सक्लान् ? कोमल हृदयकी हिमानी शाहले सम्हाल्दा कसरी सम्हालिएला ? के उनीहरुसँग देश चलाउने जादुको छडी छ ? नभए कसरी उनीहरुबाट देश सम्हालिन्छ ? यिनीहरुलाई वा ज्ञानेन्द्र शाहलाई ‘संवैधानिक राजा’ बनाउँदैमा देशले गति लिन्छ भनेर पत्याउने आधार के हो ? राजतन्त्रवादीहरुसँग यसको कुनै तर्कसंगत जवाफ छैन ।
राजतन्त्र त फर्काउने, तर कसलाई राजा बनाउने, किन बनाउने ? नेतृत्वसम्बन्धी यो प्रश्नमा राजावादीहरूभित्र एउटा ठूलो ‘भ्याकुम’ देखिन्छ ।
सबै विषयमा अन्योलताका बीच पनि राजावादी आन्दोलन भने जारी नै छ ।