‘फुट्यो एमाले ! नेता नेपाल-खनालसहितका संसदले सामूहिक राजिनामा दिँदै’
काठमाडौं । अन्तत नेकपा एमाले विभाजनको मुखैमा पुगेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा रहेका प्रत्यक्ष निर्वाचित २२ सांसदले प्रधानमन्त्री केपी ओलीका तर्फबाट एकताको ढोका बन्द भए सामूहिक राजीनामा गर्नेगरी हस्ताक्षर संकलन गरिसकेका समाचार श्रोतले मिडिया क्लब नेपाललाई बताएको छ ।
खनाल-नेपाल समूहका सांसदहरूको हिजो बेलुकाको बैठकमा पार्टीलाई एकताबद्ध बनाउन अन्तिमसम्म हदैसम्मको लचकता अपनाउने तर ढोका बन्द गरिए सामूहिक राजीनामा दिनेगरी सबैले हस्ताक्षर भने गरिसकेको बताइएको छ ।
एकताको ढोका बन्द गरिएको अवस्थामा प्रधानमन्त्री केपी ओलीको हठ र दम्भका कारण कम्युनिष्ट पार्टी विसर्जन र विघटनमा गएको कुरासहित पत्रकार सम्मेलन गरेरै राजीनामालाई सार्वजनिक गर्ने तयारीमा नेपाल-खनाल पक्षको तयारी रहेको छ ।
प्रधानमन्त्री ओलीको हठकै कारण विभाजन हुने अवस्थामा पार्टी पुगेको भन्दै अधिकांश सांसदले पूर्व पार्टी प्रमुख र सबैभन्दा सिनियर नेताको हैसियतमा वरिष्ठ नेता नेपाललाई आईतबार दिनभर एकता जोगाउने काममा अग्रसरता लिन सुझावसमेत दिएका छन् ।
बैठकमा खनाल-नेपाल समूहका तर्फबाट संस्थापन पक्षका दोस्रो तहका नेताहरूसँग भईरहेको नियमित छलफलबारे नेताहरू घनश्याम भूसाल, योगेश भट्टराई र गोकणर् विष्टले ब्रिफिङ गरेका थिए । उनीहरूले २ जेठ २०७५ अघिको पार्टी पदाधिकारीसहितको स्थायी कमिटी बैठक बस्ने र कार्यदललाई तत्कालीन कमिटी ब्यूँताउनेगरी कार्यादेश दिने बित्तिकै सकारात्मक दिशाउन्मूख छलफल मिल्नसक्ने तहमा पुगेको ब्रिफिङ गरेका थिए। उनीहरूले शुक्रवार महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्बाङ र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसँग छलफल गरेका थिए ।