‘सरकारको कमजोर तयारीको कारण कोरोनाका बिरामी ह्वातै बढे’
काठमाडौं । कतिपयले कोभिडका विभिन्न नयाँ भेरिअन्ट नेपालमा फैलिएको र त्यो तुलनात्मक रूपमा शक्तिशाली भएकाले अक्सिजनको आवश्यकता पर्ने बिरामीको सङ्ख्या बढिरहेको हुन सक्ने अनुमान गर्ने गरेका छन् ।
तर सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी नेपालमा कुन भेरिअन्ट कति मात्रामा फैलिएको छ भन्ने कुरा थाहा नभएको अवस्थामा कोरोना भाइरसलाई सामान्य रूपमा बुझ्न नमिल्ने बताउँछन् ।
सरकारले दुई महिनाअघि हङकङस्थित विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको प्रयोगशालामा १५ वटा नमुना पठाएको थियो । त्यसमध्ये नौवटा नमुनामा यूके भेरिअन्ट पाइएको थियो भने एउटामा भारतीय भेरिअन्ट भेटिएको थियो ।
केही हप्ताअघि सम्मको सरकारले गरेको थोरै परीक्षणका आधारमा बेलायती भेरिअन्ट नै बढी फैलिएको अनुमान गरिएको थियो । अनि बेलायती भेरिअन्टको हकमा सिकिस्त हुनेको प्रतिशत आइसीयू, भेन्टिलेटर, अक्सिजन चाहिनेको प्रतिशत पुरानो भेरिअन्टभन्दा खासै बढी नभएको तथ्यांकहरु पनि आएका थिए ।
नेपालमा कोरोनाको यो अवस्था थाहा हुँदा हुँदै पनि नेपाल सरकार सम्बद्ध निकायहरुले यसबारे खासै ध्यान नदिँदा नेपालीले अहिलेको अवस्था भोगिरहेका छन् । सरकारले समयमा नै कोरोना भाइरसको भेरियन्ट र यसको नियन्त्रण सम्बन्धी चासो दिएको भए अहिले सिकिस्त बिरामीको संख्या पनि बढ्ने थिएन र अक्सिजनको अभावले जनताले अकालमै ज्यान गुमाउने स्थिति पनि आउने थिएन ।
‘बेलायती भेरिअन्ट बढी सङ्क्रमणशील भएको भएर एकैपटक धेरै मानिस सङ्क्रमित हुने र धेरै मानिस सङ्क्रमित हुँदा अनुपात फरक नभए पनि समग्रमा बढी मान्छे सिकिस्त हुन्छन् र त्यस्तो हुँदा अक्सिजन चाहिने मान्छेको सङ्ख्या बढ्छ ।’