‘देश टुक्राउने अभियानमा राजेन्द्र महतो !’
काठमाडौं । कामचलाउ ओली सरकारमा नव नियुक्ती पाएका उप-प्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने बताएका छन् । महतोले नियुक्त हुनासाथै देश टुक्राउने अभिव्यक्ति दिएका हुन् ।
उप-प्रधानमन्त्री महतोले यस्तो भनेका छन् :
यो देशमा अधिकार र पहिचानको एजेन्डालाई अगाडि बढाउने जनता समाजवादी पार्टीको मुख्य लक्ष्य हो । यस्तै सुशासन र समृद्धिलाई अगाडि बढाउने हो । बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ । हाम्रा सामु दुईवटा कार्यभार छन् । एजेण्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु हो ।
मन्त्री महतोको अभिव्यक्तिलाई लिएर हिजोदेखि नै चौतर्फी विरोध भईरहेको छ । महतोले नेपाललाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजान राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने समेत बताएका छन् ।
नेकपा एमालेका नेता योगेश भट्टराईले महतोले दिएको अभिव्यक्तिको विरोध गर्दै यस्ता अभिव्यक्ति विरुद्ध लगाम लगाउन प्रधानमन्त्रीलाई अनुरोध गएका छन् ।
उनले भनेका छन् :
‘पहिलो र दोस्रो संविधानसभा मै असान्दर्भिक भइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्री ज्यु ।’
महतोले संविधान विपरित बहुल राष्ट्रिय राज्य बनाउन मुक्ति आन्दोलन गर्ने बताएका हुन् । उनको अभिव्यक्तिले देश टुक्रने दिशामा गएको विज्ञहरुले बताएका छन् ।
संविधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ :
‘बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक विशेषता भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’
प्रधानमन्त्री ओली देश टुक्राउन जनमत संग्रह गर्छु भन्ने सिके राउत, देशलाई बहुल राष्ट्रिय राज्य बनाउन आन्दोलन गर्ने अभिव्यक्ति दिने राजेन्द्र महतोजस्ता व्यक्तिसँगको साँठगाँठमा किन लाग्छन् ? बहुल राष्ट्रको अर्थ के हो ? भन्नेमा ओली नै जानकार छैनन कि ! अर्थ थाहा नभए विज्ञसँग छलफल गरेरै भए पनि बहुल राष्ट्र बनाउन आन्दोलन गर्छु भन्ने राजेन्द्र महतोलाई तत्काल मन्त्री परिषद्बाट बर्खास्त गर्नुपर्छ ।