‘संसदको अधिकार प्रधानमन्त्रीबाट अपहरण, राष्ट्रपति कार्यालयबाट अतिक्रमण’
काठमाडौं । प्रतिनीधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदको अधिकार अपहरण भएको र राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको बताएका छन् । मंगलबार संसद भवनको ल्होत्से हलमा सम्पादकहरूसँगको छलफल गर्दै सभामुख सापकोटाले सरकारबाटै अदालतका निणर्यको पनि कार्यान्वयन नभएको बताएका हुन् ।
यसो भन्छन् सभामुख अग्निप्रसाद सापकोटा ः
अहिले संसदको अधिकार अपहरण भएको छ, राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको छ । अदालतले गरेका निणर्यको उल्लंघन भएको छ । संसदको पटकपटक अवमूल्यन भएको छ । संसदलाई जीवन्त राख्न प्रयत्न गरिरहेको छु । संविधानतः मेरो भूमिका तटस्थ रहनुपर्दछ तर त्यो तटस्थता संविधानको रक्षार्थ तथा जनताको हितका सन्दर्भमा केन्द्रित गरिरहेको छु ।
प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा दायर रिटमाथि बहस चलिरहेको चर्चा गर्दै सभामुख सापकोटाले अदालतलाई पनि सही निष्कर्षमा पुग्नका लागि सहज हुनेगरी छलफल गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन भइरहेको समयमै संसद विघटन भएको उनको भनाइ थियो । उनले लोकतन्त्रको विकल्प लोकतन्त्रमात्र हुने भन्दै लोकतन्त्रको संरक्षणका लागि संविधानको रक्षा हुनुपर्नेमा जोड दिए ।