नेपालमा गाईजात्रा : इतिहासमा के छ ? कहाँ र कसरी मनाइन्छ ? (हेर्नुहोस् विस्तृतमा)
काठमाडौं । काठमाण्डौं उपत्यका तथा नेपालका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ ।
नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ ।
प्रताप मल्लको शासनकालभन्दा ३०० वर्षअघिबाटै उक्त पर्व मनाउन थालिएको बताइन्छ । यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन् ।
गाईजात्रा के हो ?
पछिल्ला वर्षहरूमा गाईजात्रालाई हास्यव्यंग्यसँग बढी जोडिए पनि यो पर्व त्योभन्दा बृहत् रहेको बताइन्छ ।
नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ । ’सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ ।
गाईजात्रा मनाउने क्रममा वर्षभरि ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ ।
यस्तो छ गाईजात्राको इतिहास :
अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्व दिने गरिएको पाइन्छ । मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्व पनि बढेको थियो । लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको पाइन्छ । अंशुवर्माको मुद्रामा दूध चुसिरहेको बाच्छो देखाइएको छ । त्यसले हाम्रो धार्मिक सांस्कृतिक जीवनमा गाईको महत्व कति छ भन्ने पनि स्पष्ट गराउँछ ।
गाईजात्रा र मृत्युगणना
गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा माटोको साँढे वा तहासाँ बनाएर नगर परिक्रमा गर्ने चलन रहँदै आएको छ । तहासाँ वा तहामचा भक्तपुरको गाईजात्राको विशेषता हो । बाँसमा फरिया बेरेको भए त्यो महिलाको र कपडा बेरेको भए त्यो पुरुषको तहासाँ भनेर बुझिन्छ ।
आठ दिनसम्म मनाइने यो पर्वमा विभिन्न डबली तथा चोकहरूमा प्रहसन, नाटक र मार्मिक कथाहरूमा प्रस्तुति दिने परम्परा भए पनि बिस्तारै त्यो लोप हुन थालेको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । गाईजात्राको एक दिन अघि जनै पूणर्िमा पर्छ । त्यसै दिनबाट कृष्ण जन्माष्टमीसम्म उक्त पर्व मनाइन्छ ।