अफगानिस्तान युद्ध : पन्जशिर नियन्त्रणमा लिएको तालिबानको दाबी, विरोधी समूह भन्छ ‘सत्य हैन’

तालिबानले आफ्नो नियन्त्रणमा आउन बाँकी रहेको पन्जशिर प्रान्तमा पूणर् नियन्त्रण कायम गरेको दाबी गरेको छ ।
राजधानी काबुलबाट उत्तरमा अवस्थित उक्त प्रान्तमा तालिबान शासनको प्रतिरोध हुँदै आएको छ । केही दिनदेखि त्यहाँ लडाइँ भइरहेको बताइन्छ ।
“यो विजयसँगै हाम्रो देशलाई पूणर्तः युद्धको दलदलबाट निकालिएको छ” तालिबानका एक प्रवक्ताले भने ।
तर तालिबानको प्रतिरोध गरिरहेको न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले तालिबानको दाबीको खण्डन गरेको छ ।
एनआरएफका प्रवक्ता अलि मैसमले भने – “यो सत्य हैन । तालिबानले पन्जशिर उपत्यकालाई नियन्त्रणमा लिएको छैन । म तालिबानको दाबीको खण्डन गर्छु ।”
उक्त समूहको ट्विटरमा भनिएको छः “एनआरएफका सैनिकहरू युद्धलाई निरन्तरता दिन उपत्यकाका सबै रणनीतिक स्थानमा छन् । हामी अफगनिस्तानका जनतालाई आश्वस्त पार्न चाहन्छौँ कि न्याय र स्वतन्त्रता कायम नभएसम्म तालिबान र तिनका साझेदारविरुद्धको सङ्घर्ष जारी रहन्छ ।”
सामाजिक सञ्जालमा प्रेषित तस्बिरमा प्रान्तीय गभर्नरको कार्यालयको प्रवेशद्वारअगाडि तालिबान लडाकुहरूलाई देखाइएको छ ।