३ मंसिर २०८१, सोमबार / Mon Nov 18, 2024

के तपाईले ख्याल गर्नुभयो ? त्रिविको यस्तो सानो गल्तीले विद्यार्थीको भविष्य बर्बाद हुनसक्छ


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले नौ अङ्क प्राप्त गरेका परीक्षार्थीलाई ६९ अङ्क बनाइएको स्वीकार गरेका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले मङ्गलबार त्रिविका पदाधिकारीलाई छलफलका लागि बोलाएको थियो । छलफलमा त्रिविका पदाधिकारीहरूले पद्धति खराब नभई व्यक्ति खराब हुँदा त्यस्तो घटना भएको तर्क गर्दै आफ्ना कर्मचारीको बद्मासीले गर्दा कमजोरी भएको स्वीकार गरे ।

त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले नियतले त्यस्तो नभएको बताउँदै भन्नुभयो, ‘व्यक्तिका कारण छवि खराब हुनपुग्यो । आइन्दा यी कुरामा सजग हुनेछौँ ।’ त्रिविका विद्यार्थी सुरेन्द्र कोइरालाले समाजशास्त्र, अर्थशास्त्र, ग्रामीण विकास र राजनीतिकशास्त्र विषयमा स्नातकोत्तर पूरा गरेका छन् । उनले राजनीतिकशास्त्र बाहेकका विषयमा ६० अङ्कसम्म थप्न लगाएको पाइएको छ ।

मार्क्स्लिपमा नौ अङ्क रहेको तर ट्रान्सक्रिप्टमा ६९ अङ्क देखिएपछि त्रिविले नै आन्तरिक छानविन सुरु गरेको थियो । छानविनपछि बद्मासी भएको प्रतिवेदन बुझाइएपछि यो घटना सार्वजनिक भएको थियो । यस विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अख्तियारले ‘इन्ट्री गरिएका मार्क्स्लिप’ लिएर गएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यस्तै, फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ । कार्यालय सहयोगी तेन्जिङ शेर्पाको करार अवधि अघिल्लो असारमा सकिएको थियो । त्यसपछि भन्सार ठप्प रहेको गाउँपालिका प्रवक्ता छेतेन वालुङको भनाइ छ । भन्सार विभागले नायबसुब्बा विजय श्रेष्ठलाई खटाए पनि कार्यालयमा हाजिर भएका छैनन् । तर, कर्मचारीले स्थानीय भत्तासहित तलब बुझ्ने गरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्ष १५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । कार्यालयको खर्च भने १७ लाख ३५ हजार रुपैयाँ भयो । स्थानीयका अनुसार भन्सारको कारोबार अपारदर्शी थियो । वडाध्यक्ष छेतेन भोटेले २०७२–७३ मा एकैपटक ६५ हजार राजस्व तिरेका थिए । तर, सोही वर्ष कार्यालयले राजस्व १८ हजार मात्रै जम्मा गरेको पाइएको छ । कर्मचारीका लागि भने १६ लाख ७८ हजार खर्च भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिका प्रवक्ता वालुङका अनुसार तीन वर्षअघिसम्म भन्सारले ‘ श्री ५ को सरकार’ लेखिएकै रसिद दिने गरेको थियो । यो वर्ष भने राजस्व शून्य छ । ‘चीन र नेपाल दुवैतर्फ ठूलो परिमाणमा जडीबुटी, पशुचौपाया र तयारी सामान आयात–निर्यात हुन्छ’, उनले भने, ‘तापनि, त्यसको तथ्यांक राखेर राजस्व लिने निकाय लामो समयदेखि बन्द छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि