इटाभट्टामा नगरपालिकाले डोजर चलायो, तीन व्यवसायी पक्राउ
मिडिया क्लब नेपाल । काभ्रे

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले नगर क्षेत्रभित्र नियम विपरित सञ्चालन भएका इटा उद्योगमा डोजर चलाएको छ ।
नगरपालिकाले क्रेन र डोजर लगाएर इटा भट्टा भत्काएको हो । नगरपालिकासँग व्यवसायीले गरेको सम्झौताअनुसार असार मसान्तसम्ममा व्यवसायीहरूले भट्टा नभत्काएपछि ३५ दिने सूचना जारी गरेको थियो । व्यवसायीले उक्त सूचनाको अटेर गरेपछि नगरपालिकाले प्रहरीसमेत परिचालन गरी इटाभट्टामा डोजर लगाएको हो ।
नगरपालिका भित्रका ८ वटा भट्टा भत्काउने सूचिमा रहेको बताउँदै नमोबुद्ध नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिनाले भने – ‘व्यवसायीले सम्झौता अटेर गरेकाले उद्योगमा डोजर लगाइएको हो ।’
तर व्यवसायीले भने सम्झौताअनुसार भत्काउने तयारीमा रहेका बेला नगरपालिकाले जबर्जस्ती गरेको बताएका छन् । नगरपालिकाले सम्झौता पनि घाटीमा निमोठेर गर्न लगाएको व्यवसायीको आरोप रहेको छ । व्यवसायीहरूले भट्टा जाने बाटोमा स्काभेटर र जेसिवीको अवरोध तेस्र्याए पनि नगरपालिकाले वैकल्पिक बाटोबाट गएर भट्टा भत्काएको थियो ।
तीन पक्राउ
भट्टा भत्काउन खोजेपछि नगर प्रमुखविरुद्ध नाराबाजी गर्ने तीन जना व्यवासायीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका ३ का किशोर दाहाल, भक्तपुर नगरपालिका ९ का राम सुवाल र भत्तपुर नगरपालिका ८ का राजन भैना रहेको प्रहरीले जानकारी दिएको छ ।
