भारतलाई सूचना चुहाउन तछाडमछाड गर्दै राजनीतिज्ञदेखि भीआइपी पत्रकारसम्म
नेपाली राजनीतिज्ञहरूले राजनीतिक स्वार्थ पूर्तिका लागि भारतीय पक्षलाई खुशी पार्नकै लागि यो वा त्यो नाममा तछाडमछाड गर्दै विभिन्न सन्धीसम्झौता गर्दैै आएका छन् । त्यसो त भर्खरै मात्र भारतीय दुतावासभित्रै भीआइपी पत्रकारहरूलाई हुस्की र चुस्कीसहितको रात्री भोज गराउनु, भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्त गोयलसँग लुकीलुकी भेट्नु, भीआइपी पत्रकार, राजनीतिज्ञहरु, प्रशासनिक प्रमुखहरु समेतको साँठगाँठले कतै हाम्रो ओज घट्दै गएको छ भन्ने तथ्य उजागर हुन्छ ।
त्यसो त नेपाली भू–भाग भारत र चिन दुवैले मिचेका छन्, धेरै र थोरै मात्र हो । यस कुरामा सत्ता पक्ष तथा प्रतिपक्षमा रहेका राजनीतिक दलले हिम्मत साथ कुटनीतिक तवरबाट समस्याको समाधान गर्न सक्नु आजको प्रमुख विषय हो । वैदेशिक ऋण, सहयोग र सहायताका नाममा हामी लुते हुनुपर्ने स्थिति नआओस् भन्नका लागि सचेत हुनुपर्छ । पृथ्वीनारायण शाहले आर्जेर गएको मुलुक जनताका छोराछोरीले भारत र चिनलाई बुझाए भनेर भावी पुस्ताले औँला ठड्याउने दिन आउन नदिनु नै आजका राजनीतिज्ञको लागि चुनौती हो ।
भारतीय पक्ष खुशी पार्न तछाडमछाड गर्दै हिड्ने राजनीतिज्ञ, प्रशासक, भीआइपी पत्रकारहरूसमेतको केही कमी छैन, सबका सब माहिर, हण्डी खाएर लेखिएको समाचारबाट सत्यतथ्य कसरी आउँछ बाहिर । कसरी जोगिन्छ राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमान ?
यसरी सबै राजनीतिक नेता, सरकारी उच्चपदस्थ अधिकारी, व्यापारी, भीआइपी पत्रकार सबकासब विदेशीहरूलाई सूचना चुहाएर आफू बफादार बन्न खोज्ने परम्पराले देशको आन्तरिक मामला कमजोर हुन गई राष्ट्रघात हुन्छ ।
चाहे देश सानो होस् वा ठुलो, लम्पसारवादले राष्ट्र र राष्ट्रिय स्वाभिमानलाई स्वाहा बनाउँछ । भारत र चिनलाई विरोध गरेर ठुलो हुनुपर्छ भन्ने छैन, तर परस्पर, मित्रवत तथा असल छिमेकीसँग गर्नुपर्ने व्यवहार सिक्नु र सिकाउनु जरुरी छ । असमान सन्धी सम्झौताहरु विज्ञ समुह गठन गरी आपसी समझदारीमा हल गरेर नेपाल, भारत र चिन बीचको सम्बन्धलाई दिगो बनाई राख्नु बुद्धिमानी हुनेछ ।