आयाम साकोसको आयोजनामा कोशिदेखामा निःशुल्क स्वास्थ्य शिविर

काभ्रे । बनेपामा केन्द्रीय कार्यालय रहि जिल्लाका अन्य स्थानमा सेवा केन्द्रसमेत सञ्चालन गर्दै आएको आयाम बचत तथा ऋण सहकारी संस्था लि.ले जिल्लाको पाँचखाल न.पा.–१३, कोशिदेखामा १ दिने निःशुुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
पाँचखाल पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर र आयाम साकोस बिच सहकार्य गरी पोलिक्लिनिको निःशुल्क स्वास्थ्य सेवा तथा साकोसको ब्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो । कोशिदेखा क्षेत्रमा रहेका शेयर सदस्यहरु र अन्य गैह्र शेयर सदस्यहरुलाई समेत स्वास्थ्य सुविधा उपलब्ध गराइएको जनाइएको छ ।

पाँचखाल न.पा.–१३, कोशिदेखाका वडा अध्यक्ष सुकुविर तामाङ्गको प्रमुख आतिथ्यतम तथा सोही विद्यालयका प्रधानाध्यापक राजमान तामाङ्गको आतिथ्यताका बिचमा पानसमा दिप प्रज्वलन गरेर शिविरको उद्घाटन गरिएको थियो । प्रमुख अतिथि तामाङ्गले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलमा आयाम साकोसको कदमको प्रसंशा गर्दै आगामी दिनहरुमा पनि सेवामुलक तथा सदस्य केन्द्रित कार्यक्रम ल्याउनुहुन अनुरोध गर्नुभएको थियो । साथै तामाङले सोही कार्यक्रममा संस्थाको सदस्यता ग्रहण गर्दै आयाम साकोसलाई सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

निशुल्क स्वास्थ्य शिविरमा १९३ जना बिरामीहरुले स्वास्थ्य उपचार गराएका थिए । सामान्य चिकित्सा, फिजियोथेरापी तथा दन्त सेवा प्रदान गरिएको शिविरमा निशुल्क स्वास्थ्य सेवा सँगसँगै आवश्यकता अनुसारको निशुल्क औषधी समेत वितरण गरिएको थियो ।
आयाम साकोस र पाँचखाल पोेलिक्लिनिक बिच भएको सम्झौता अनुसार साकोसको सदस्यता लिनुभएका शेयर सदस्यहरुलाई सामान्य समयमा पनि औषधीमा १०%, दन्त सेवामा २०%, ल्याब परिक्षण सेवामा २०%, एक्स–रे तथा फिजियो थेरापी सेवामा २०% साथै होलबडी चेकअपमा २०% छुटको ब्यवस्था गरिएको संस्थाकी प्रबन्धक सविना पन्तले जानकारी दिनुभएको छ ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष सुनिल चौलागाँई, उपाध्यक्ष श्याम थापा, लेखा समिति संयोजक विनोद बजगाँई लगायतका उपस्थिति रहेको थियो ।
