१३ बैशाख २०८३, आइतबार / Sun Apr 26, 2026

डोनल्ड ट्रम्पको चेतावनी : अमेरिकी सेनालाई निकालिए इराकविरुद्ध कडा प्रतिबन्ध


एजेन्सीको सहयोगमा मिडिया क्लब नेपाल । इराकी संसदले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकविरुद्ध कडा प्रतिबन्ध लगाइदिने धम्की दिएका छन् ।

राष्ट्रपति ट्रम्पले संवाददाताहरूसँग भनेका छन् – ‘हाम्रो निकै महँगो हवाई अखडा त्यहाँ छ । त्यो बनाउन अर्बाै डलर लागेको छ । हामीलाई त्यो रकम नतिरेसम्म हामी इराक छोड्दैनौ ।’
अमेरिकाले गत हप्ता एकजना वरिष्ठ इरानी सैन्य नेता कासिम सुलेमानीलाई बग्दादमा मारिदिएपछि मध्यपूर्वमा तनाव चुलिएको हो ।
इरानले आफ्नो प्रभावशाली सैन्य नेताको हत्याको बदला लिने उद्घोष गरेको छ ।

को हुन मारिएका सुलेमानी

सुलेमानीलाई इरानमा दोस्रो शक्तिशाली व्यक्ति मानिन्थ्यो । गएको शुक्रवार बग्दाद विमानस्थलमा गरिएको हवाई आक्रमणमा सुलेमानीसहित इरानको समर्थनप्राप्त इराकी लडाकु समूह ‘कताइब हेज्बूला’का नेता अबु महदी अलमोहन्दिसको पनि मृत्यु भएको थियो । बयसट्ठी वर्षीय सुलेमानीको नेतृत्वमा मध्यपूर्वमा इरानी सैन्य गतिविधि सञ्चालित थियो । तर अमेरिकाले उनलाई आतङ्ककारी मानेको थियो ।
सुलेमानी इरानको इस्लामिक रेभलूशनरी गाड्र्स कोर (आईआरजीसी) अन्तर्गत रहेको विशेष सैन्य बल कूड्स फोर्सुका प्रमुख थिए । उनका उत्तराधिकारीले अमेरिकालाई मध्यपूर्वबाट निकाल्ने वाचा गरेका छन् ।

ट्रम्पले यसो भने –

राष्ट्रपतिको विमानमा सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले यदि इराकले अमेरिकी सेनालाई अमित्रवत रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध कडा प्रतिबन्धहरू लगाउने बताएका छन् । उनले भनेका छन् – ‘हामी उनीहरूले पहिला कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिनेछौं, त्यसले इरानविरुद्ध लगाइएको नाकाबन्दीलाई पनि फिक्का पारिदिनेछ ।’

लडाकु समूह इस्लामिक स्टेटविरुद्ध युद्ध हुँदा बनेको अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत अहिले इराकमा झन्डै ५,००० अमेरिकी सैनिक छन् ।
आइतबार उक्त गठबन्धनले आईएसविरुद्धको कारबाही रोकिएको बताएको थियो ।
इराकको संसदले विदेशी सेनालाई देश छोड्न आह्वान गर्दै एउटा प्रस्ताव पारित गरिसकेको छ ।उक्त प्रस्ताव इरानसँग निकट सम्बन्ध भएको ठानिएको ‘शिया मुस्लिम’हरूको संसदीय समूहले अघि सारेको थियो ।

इरान चाहिँ यसो भन्छ –

इरानले सन् २०१५ मा गरिएको पारमाणविक सम्झौताका प्रावधान अब नमान्ने घोषणा गरेको छ । अब आफूले उक्त सम्झौतामा तोकिएको युरेनियम प्रवर्धनको सीमालाई नमान्ने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि