मल खरिदको सरकारी योजना अपूर्ण, बर्खेबालीको लागि मलको चरम अभाव

मिडिया क्लब नेपाल, काठमाडौं । सरकारको योजनाअनुसार रसायनिक मल (युरिया, डीएपी र पोटास) आपूर्ति गर्न नसक्दा यो वर्ष बर्खेबालीलाई मलको चरम अभाव हुने देखिएको छ ।
४ लाख ४८ हजार मेट्रिक टन रसायनिक मल आयात गरेर किसानलाई वितरण गर्ने सरकारी योजना भएपनि योजना अनुसार मलको आपूर्ति गर्न नसक्दा किसान चर्काे मारमा पर्ने भएका हुन । यससँगै कोरोना भाइरस महामारीका कारण वैदेशिक रोजगारीबाट फर्केका युवालाई कृषिमा आकर्षित गर्ने आगामी आर्थिक वर्ष २०७७÷७८ को सरकारी योजनामा ब्रेक लाग्ने देखिएको छ ।
कृषि सामाग्री कम्पनी लिमिटेडका अनुसार नेपालमा धान, गहुँ र मकैका लागि वार्षिक ७ लाख ८५ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ तर सरकारी अनुदानमा मलको आपूर्ति गर्दै आएका कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेशनले वर्षभरि ४ लाख ४८ हजार मेट्रिक टन मात्रै मल आयात गरी सहरकारी मार्फत किसानलाई वितरण गर्ने योजना चालु आर्थिक वर्ष २०७६÷०७७को सुरुमै बनाएका थिए ।
कृषि सामाग्री कम्पनी र साल्ट ट्रडिङले उक्त योजना अनुसार मलको आयात गर्न सकेका छैनन् । अहिले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ लिमिटेडसँग ८ हजार मेट्रिक टन मात्रै रासायनिक मल मौज्दात कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जानकारी दिएको छ । दुवै निकायको गरेर जम्मा १ लाख ५ हजार मेट्रिक टन आयातको क्रममा रहेको छ । आयातको क्रममा रहेको उक्त मल जेठ महिनामै नेपाल आइपुग्नु पर्ने भएपनि अझै आइपुगेको छैन ।
तर कृषि सामाग्री कम्पनी लिमिटेडले योजनाअनुसार मलको आयात गर्न नसकेको स्वीकार गरेपनि बर्खामा मलको अभाव नहुने दावी गरेको छ ।
