मण्डन देउपुरका विभिन्न स्थानमा कोरोना प्रतिरोधी औषधी वितरण
मिडिया क्लब नेपाल, काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. ९ को रानीटार र सिउडिनीटार, वडा नं. ८ धाइटार र वडा नं. ११ को हिंगुवापाटीको प्रहरी चौकी टोल र महादेवस्थानको दनुवार बस्तीका टोलटोलमा मारवाडि सेवा समितिको सौजन्यमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने होमियोप्याथिक औषधी ARSENICUM ALBUM 30C निःशुल्क वितरण गरिएको छ ।
मिडिया क्लब नेपालका अध्यक्ष तथा समाजसेवी श्यामकृष्ण लम्सालको विशेष पहलमा मण्डनदेउपुर नगरपालिकाका तीन वटा वडामा ६००० जनाको लागि औषधी वितरण गरिएको हो । बाँकी छुटेको स्थानमा पनि पुनः औषधी वितरण गरिने समाजसेवी लम्सालले बताउनुभएको छ ।
औषधी वितरणमा स्थानीय जनप्रतिनीधि देवेन्द्रप्रसाद सापकोटाले सहकार्य गर्नुभएको थियो, व्यवसायी रमेश तिमल्सिनाको पनि सहभागिता थियो ।
समाजसेवी श्यामकृष्ण लम्सालले यसअघि महाभुकम्प, २०७२ मा पनि सोही नगरपालिका वडा नं. ७, महादेवस्थानमा अस्थायी घर निर्माण कार्यको संयोजन गर्नुभएको थियो साथै उहाँले विभिन्न सामाजिक कामहरू पनि गर्दै आउनुभएको छ ।
मारवाडी सेवा समितिसँग समन्वय गरी जनताहरुलाई औषधी वितरण गर्न स्थानीय जनप्रतिनीधिहरुलाई लम्सालले आग्रह गर्नुभयो । साथै यो महामारीमा औषधी वितरण गर्ने मारवाडी सेवा समितिलाई धन्यवाद दिनुभयो ।