बिन्धवासिनी साकोसको काठमाण्डौ सेवा केन्द्रबाट कारोबार शुभारम्भ
मिडिया क्लब नेपाल, काठमाण्डौं । काभ्रेपलाञ्चोक जिल्लामा केन्द्रीय कार्यालय भएको सहकारी क्षेत्रमा छुट्टै पहिचान बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सबल, सुरक्षित र दिगो वित्तीय सहकारीको रुपमा परिचित बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले असोज १ गते देखि काठमाण्डौ मिनभवन स्थित सेवा कार्यालयबाट कारोबार शुभारम्भ गरेको छ ।
काठमाण्डौमा रहेको सिर्जनशिल बचत तथा ऋण सहकारी संस्थासंग एकिकरण भए पछि एकिकृत कारोबार शुभारम्भ गरिएको संस्थाका प्रमुख व्यवस्थापक के.बी. लामाले बताउनुभयो ।
एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती, पूर्व बैंकर उमेश सिं भण्डारी लगायत विशिष्ट व्यक्तिहरु र एकिकृत दुवै संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलज्यूले रिबन काटेर बिन्धवासिनी बोर्ड अनावरण गरी शुभारम्भ गर्नु भएको थियो । संस्थाको प्रमुख व्यवस्थापक के.बी. लामाले संस्थाको हाल सम्मको वित्तीय स्थिति र संचालन गरेका गैह्र वित्तीय सेवाहरुको संक्षिप्त जानकारी गराउनुभएको थियो ।
उक्त दुवै संस्था एकिकरण पश्चात करीब ३८ हजार शेयर सदस्य र सात हजार आठ सय बाल बचत कर्ता गरी ४५ हजार भन्दा बढि सेवाग्राही आवद्ध रहेको उक्त संस्थाको शेयर पूजी ३३ करोड २५ लाख, बचत तथा निक्षेप दुई अर्ब ४१ करोड ५४ लाख, ऋण लगानीमा रहेको रकम दुई अर्ब ३४ करोड १७ लाख भई कूल सम्पत्ति ३ अर्ब २५ करोड पुगेको समेत जानकारी गराइएको थियो ।
संस्थाका अध्यक्ष प्रदिप थापाले बिन्धवासिनी माता र लक्ष्मी माताको पूजा आजा गरी शुरु भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल र राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले बधाई एवं सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
शुभारम्भ कार्यक्रमको अवसरमा १० जना नयाँ शेयर सदस्य बनेका थिए भने एक लाख ७८ हजार शेयर र एक करोड भन्दा बढि बचत संकलन भएको प्रमुख व्यवस्थापक के.बी. लामाले जानकारी दिनुभयो । नेपाल सरकारबाट तोकिएको कोभिड १९ स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कायम गरी संचालन गरिएको अनौपचारिक कार्यक्रमको धन्यवाद सहित समापन अध्यक्ष प्रदिप थापाले गर्नुभएको थियो ।