सहकारीहरुले अधिकतम १४.७५% मात्र ब्याज लिन पाउने
मिडिया क्लब नेपाल, काठमाडौं । सहकारीहरुले सदस्यहरुमा ऋण लगानी गर्दा लिने ब्याजको दर १४.७५ तोकिएको छ । सन्दर्भ ब्याजदर निर्धारण समितिको सोमबार बसेको बैठकले गत वर्ष निर्धारित १६ प्रतिशतको दर परिमार्जन गरी दोश्रो पटक सहकारीको सन्दर्भ ब्याजदर तोकेको छ । सन्दर्भ ब्याजदर निर्धारण समितिले सहकारीमा १४ दशमलब ७५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।
यसअघि सहकारी विभागले गत वर्ष अर्थात् २०७६ साल साउन १९ मा पहिलो पटक सहकारीमा १६ प्रतिशत सन्दर्भ व्याजदर निर्धारण गरेको थियो । आज निर्धारण गरिएको ब्याजदर आगामी कात्तिक १५ बाट मात्रै लागु हुने जनाइएको छ ।
सहकारी ऐन २०७४ को दफा ५१ मा सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघको अध्यक्ष वा निजले तोकेको सञ्चालक प्रतिनिधि, राष्ट्रिय सहकारी बैंकको प्रतिनिधि, महासंघको अध्यक्ष वा निजले तोकेको सञ्चालक एक र महासंघले तोकेको केन्द्रीय विषयगत संघहरुबाट २ जना र सहकारी विभागका उप रजिष्ट्रार सदस्य सचिव रहने समितिको सिफारिसमा सहकारी संस्थाको प्रयोजनका लागि बचत तथा ऋणको सन्दर्भ व्याजदर अधिकतम सीमा तोक्न सक्ने व्यवस्था गरेको छ । त्यसैगरी, सहकारी नियमावली २०७५ को नियम २३ मा सन्दर्भ व्याजदर निर्धारण गर्दा ब्याजदर निर्धारण समितिले लिनुपर्ने आधारहरुको व्यवस्था गरिएको छ ।