यी हुन् नेपाल–भारत सीमा विवादको पछिल्ला घटनाक्रम
मिडिया क्लब नेपाल । पछिल्लो समय सिमाको विषयलाई लिएर नेपाल–भारतबीचको सम्बन्धमा आएको चिसोपन अझै पनि उस्तै छ । वर्षाैअघिदेखिको सिमा–विवाद अझैसम्म पनि समाधान हुन सकेको छैन । सिमा विवादको विषय टुङ्गोमा नपुग्नुमा भारतीय पक्ष जिम्मेवार रहेको विज्ञहरुले बताउँदै आएका छन् ।
२०७६ र २०७७ सालमा भएका पछिल्ला घटनाक्रम यस्ता छन्
विसं २०७६ कार्तिक १६ : भारतले जम्मू–कश्मीर र लद्दाखलाई केन्द्र–शासित प्रदेश बनाएपछि जारी नयाँ नक्सामा लिम्पियाधुरा–कालापानी समावेश ।
विसं २०७६ कार्तिक २० : कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्ति ।
विसं २०७६ कार्तिक २१ : भारतको विदेश मन्त्रालयले आफ्नो नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै हेरफेर नगरेको भनाइ ।
विसं २०७६ मङ्सिर ३ : भारतको नयाँ नक्साबारे भारत सरकारलाई ‘कूटनीतिक नोट’ पठाउँदै सुगौली सन्धिअनुसार काली (महाकाली नदी) पूर्वको लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको कुरा पुनस्स्मरण गराइएको नेपालको परराष्ट्र मन्त्रालयको भनाइ ।
विसं २०७७ वैशाख २६ : भारतका रक्षामन्त्री राजनाथ सिंहद्वारा नेपालले दाबी गरेको धार्चुला–लिपुलेक क्षेत्रमा निर्मित तिब्बतमा रहेको कैलाश–मानसरोवर जोड्ने सम्पर्क सडक सञ्जालको भिडिओ कन्फरेन्समार्फत उद्घाटन ।
विसं २०७७ वैशाख २७ : सडक निर्माण गर्ने एकतर्फी गतिविधि प्रधानमन्त्रीका तहमा समेत गरी दुई देशबीच भएका समझदारीविपरीत रहेको नेपालको भनाइ ।
विसं २०७७ वैशाख २७ : भारतको विदेश मन्त्रालयले सडक सञ्जाल उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने भारतीय सीमाभित्रै रहेको प्रतिक्रिया ।
विसं २०७७ जेठ ७ : नेपालको मन्त्रिपरिषद्ले पारित गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी ।
विसं २०७७ जेठ ३१ : नेपालले जारी गरेको नयाँ नक्साअनुसार निसान छाप परिमार्जन गर्ने प्रस्ताव गरिएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित ।