चिनियाँ नाकामा नाकाबन्दी जस्तै भएपछि नेपाली व्यवसायीको २० अर्ब जोखिममा

काठमाडौं । चिनसँग सिमाना जोडिएको मुख्य दुई व्यापारिक नाका केरुङ रतातोपानीमा अहिले नाकाबन्दी जस्तै छ ।
झण्डै १० महिनादेखिको समस्याका कारण झण्डै २० अर्ब मूल्य बराबरका सामग्री चीनतर्फ थन्किएको ‘नेपाल चीन हिमालय सीमापार वाणिज्य संघ’ले बताएको छ ।
हाल दैनिक रूपमा ३० देखि ४० वटा कन्टेनर सामान आउनुपर्ने भएपनि त्यसो हुन नसक्दा अहिले पनि चीनतर्फ नेपालका १२ देखि १५ सय कन्टेनरसम्मका सामान रोकिएका बताइएको छ ।
संघकाअनुसार नेपाल सरकारको पहल नपुग्दा चिनियाँ पक्षले दैनिक एकाध मालवाहक कन्टेनरहरूलाई मात्रै नेपाल पठाइरहेको हो ।
त्यसबाहेक यो बिचमा चिनियाँ ढुवानीकर्ताले रसुवागढी नाका लक्षित गर्दै लगभग २४ किलोमिटर सामान ढुवानी गरिदिन १२ लाख रूपियाँ भन्दा बढी लिएको नेपाल चीन हिमालय सीमापार वाणिज्य संघका प्रतिनीधिले बताएका छन् । पहिला सोही समान ३ लाख रूपियाँमा काठमाडौंसम्म ढुवानी हुने गरेको बताइन्छ ।
