‘सवारी कर तिर्न घुस नै खुवाउनुपर्ने बाध्यता कहिलेसम्म ?’
भक्तपुर । यातायात व्यवस्था सेवा कार्यालय, सल्लाघारीस्थित सवारी कर तिर्न दैनिक सयौँको संख्यामा लामबद्ध भएर बिहान ७ बजेदेखि सेवाग्राही लाइन बस्छन् । तर घण्टौको लाइनपछि कर नतिरी फर्कने सेवाग्राही पनि सयौँ हुन्छन् । त्यसको कारण हो बिचौलिया र तिनीहरुसँग कर्मचारीको साँठगाँठ ।
बिहिबार बिहान ७ बजेदेखि सेवाग्राहीहरु लाइनमा लामबद्ध भएर टोकन लिन बसे । तर १० बजे अगावै लाइनमा बसेका सेवाग्राहीले समेत टोकन पाएनन् । कार्यालयले लाइनमा बसेका सिमित सेवाग्राहीलाई मात्र टोकन दिएर बाँकी टोकन बिचौलियालाई दिने गरेको पाइयो । घण्टौँ लाइनमा बसेका सेवाग्राहीले टोकन नपाएपछि आक्रोशित भइ तोडफोड समेत गरेका छन् । कार्यालयका झ्यालका सिसा फुटाए । प्रहरीद्वारा भक्तपुरका १ जना सेवाग्राहीलाई नियन्त्रणमा लिइएको थियो ।
टोकन नपाएर आक्रोशित भएका सेवाग्राहीले सवारी कर तिर्न पनि कहिलेसम्म घुस खुवाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए ।
हाल उक्त कार्यालयमा सिमित टोकन सिस्टम र जोर बिजोर प्रणाली लागु गरिएको छ । तर सिमित टोकन मात्र लाइनमा बसेका सेवाग्राहीलाई बाँडेर बाँकी बिचौलियालाई दिइने गरिएको बुझिएको छ । नाम नखुलाउने शर्तमा बिचौलियाको काम गरिरहेका कार्यालय बाहिर बसेका एक जनाले मिडिया क्लब नेपालसँग भने – ‘सेवाग्राहीले प्रति सवारी पाँच सय रुपैयाँ तिरे हामीले नै भित्रबाट टोकनको मिलाएर कर तिरिदिन्छौ ।’
देशका धेरैजसो भीड हुने सरकारी कार्यालयमा अहिले घुस नखुवाई कामै हुँदैन । यस्तै कार्यले गर्दा यातायात कार्यालय, मालपोत कार्यालय जस्ता थुप्रै सरकारी कार्यालय र कर्मचारी संयन्त्र पनि बदनाम हुँदै गएका छन् ।