खुल्ने भयो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा
काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ प्रक्रिया खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको छ । विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला गर्न लागिएको जनाएको छ ।
तर, अनलाइन फारम तथा परीक्षा सञ्चालन गर्ने सम्बन्धमा भने स्वयम् प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात कार्यालयहरुको स्वःअधिकार हुने विभागले जनाएको छ ।
यस्तो आवेदन प्रक्रिया पुर्याएर स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर प्रदेश यातायात कार्यालयहरुले तत्काल खोल्न सक्ने महानिर्देशक हमालको भनाई छ । विभागबाट यस्तो सूचना आएसँगै प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्रालयहरुले नयाँ लाइसेन्सको प्रक्रिया अघि बढाउने भएका छन् ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले अबको एक दुई दिनभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम तथा परीक्षा खोल्ने तयारी गरेको छ ।