म्यानमारमा सैन्य ‘कू’, एक वर्षको लागि सङ्कटकाल घोषणा
म्यान्मारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।
नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घण्टापछि सेनाले उक्त जानकारी दिएको हो । नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक कूको खबर आएको छ ।
सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ ।
शासन सत्ता हातमा लिएका सेना प्रमुख मिन ओङ ह्लाइङ यसअघि सन् २०१७ को डिसेम्बरमा नेपाल भ्रमणमा आएका थिए । सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले शासन गर्दै आएको थियो ।
गत नोभेम्बर महिनामा भएको चुनावमा सू चीको पार्टी न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो ।
सेनाले उक्त चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।
(बिबिसि)