सेयर बजारमा इन्फ्रास्ट्रक्चर बैंकले बनायो नयाँ रेकर्ड
काठमाडौं । नेपाली सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ऐतिहासिक रेकर्ड कायम गरेको छ । बैंकले सबैभन्दा छिटो खर्बपति क्लबमा प्रवेश गर्ने रेकर्ड बनाएको हो ।
आइतबारदेखि कारोबार शुरू भएको बैंकले पाँच दिनमै बजार पूँजीकरण १ खर्ब बढी र्पुयाएर नयाँ रेकर्ड बनाएको हो । इन्फ्रास्ट्रक्चर बैंक नेप्सेमा सूचीकृत कम्पनीमध्ये एक सातामै बजार पूँजीकरण १ खर्ब नाघ्ने पहिलो बैंक बनेको छ ।
यसअघि नेपाल पुनर्बीमा कम्पनीको बजार पूँजीकरण पाँच महिनामा १ खर्ब रुपैयाँ नाघेको थियो । नेप्सेमा कूल २० करोड कित्ता सेयर सूचीकृत भएको इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य ५ दिनमै २०५ रुपैयाँले बढेसँगै बजार पूँजीकरण १ खर्ब रुपैयाँ नाघेको हो। नेप्सेका अनुसार बिहीबार बैंकको पूँजीकरण १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।
पहिलो दिन आइतबार प्रति कित्ता ३४० रुपैयाँमा कारोबार खुलेको बैंकको हरेक दिन सेयर मूल्यमा सकरात्मक सर्किट अर्थात् सेयर मूल्य दैनिक १० प्रतिशतले बढेको छ। आज बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५४६ रुपैयाँमा कारोबार भइरहेको छ ।
बैंकले १ महिना अघि आठ करोड कित्ता (८ अर्ब रुपैयाँ बराबरको) आइपीओ जारी गरेको थियो। हाल नेप्सेमा सूचीकृत २२५ बढी कम्पनीमध्ये बजार पूँजीकरण खर्ब बढी हुने कम्पनीको संख्या आठ रहेको छ । बैंक समग्रमा १ खर्ब बढी बजार पूँजीकरण हुने आठौं कम्पनी बनेको छ । भने बैंकिङ क्षेत्रमा चौथो बैंक बनेको छ ।