‘भारतमा कोरोना सङ्क्रमण बढेपछि नाकामा कडाइ’
काठमाडौं । भारतमा कोभिडको दोस्रो चरणको सङ्क्रमण बढ्दै गएपछि नेपाल-भारत नाकामा सावधानी अपनाउन थालिएको छ ।
नेपालगन्ज नाकामा मङ्गलबारदेखि एन्टिजन परीक्षण सुरु गरिने भएको छ ।
रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरमा पुगेका नेपालीहरू त्यहाँ भाइरस सङ्क्रमणको डर तथा लकडाउनका कारण स्वदेश फर्किने क्रम बढेको छ ।
हिजोआज दैनिक ७०० देखि १,००० नेपाली नेपालगन्ज हुँदै स्वदेश फर्किरहेका बताइएको छ ।
पर्साका नाकाहरूबाट सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टि गर्दै यसको रोकथाम र नियन्त्रणका लागि बुधवार सर्वपक्षीय बैठक भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिएका छन् ।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतमा निकायहरू र नाकाका स्वास्थ्य डेस्कलाई सचेत रहन निर्देशन दिएको छ ।