नेपालबाट हराएका बालिका र किशोरी बिहारमा, नेपाल प्रहरीले थाल्यो फिर्ता ल्याउने प्रक्रिया

काठमाडौं । महोत्तरी जिल्लाको भँगहा नगरपालिकाको वडा नम्बर ८ बाट मङ्गलवारदेखि हराइरहेका दुई बालिका र पाँच किशोरी भारतको बिहार राज्यको सीतामढी जिल्लामा फेला पारिएको र उनीहरूलाई फिर्ता ल्याउने प्रक्रिया सुरु गरिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार भारतीय प्रहरी अधिकारीहरूले नेपाल प्रहरीको टोलीलाई सबै बालिकालाई हस्तान्तरण गर्ने प्रक्रिया थालेका छन् ।
नेपाली प्रहरी अधिकृतहरूको टोली बालिकाहरू लिएर साँझसम्म नेपाल फर्किने बताइएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा उनीहरूलाई सीतामढीको रेल स्टेशनमा फेला पारिएको थियो ।
उनीहरू नेपाल आएपछि उनीहरू कसरी भारत पुगे भने थप तथ्य खुल्ने बताइएको छ ।
भँगहा नगरपालिकाको वडा नम्बर ८ धरमपुरमा घाँस काट्न गएका उनीहरू मङ्गलवार दिउँसोदेखि सम्पर्कविहीन थिए ।
घरनजिकै रहेको चौरमा घाँस काट्न गएका बालिकाहरू अबेरसम्म घर नफर्किएपछि खोजी सुरु गरिएको थियो ।
उनीहरू हराएको खबर प्रहरीले पाएपछि भारतीय प्रहरीको समन्वयमा खोजी थालिएको थियो ।
