संवैधानिक पदमा नियुक्तिका लागि ओलीले बोलाए संवैधानिक परिषद बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
विभिन्न संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिका लागि बिहान ९ बजेदेखि बालुवाटारमा बस्दै छ । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ ।
तर यही वैशाख २१ गते प्रधानमन्त्रीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन अध्यादेश-२०७८ जारी गरेर संवैधानिक परिषदमा कुनै तीन सदस्यले बैठक बसी निणर्य गर्न सक्ने व्यवस्था गराएका छन् ।
विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदसम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य भएको भन्दै बैठकमा भाग नलिने स्पष्ट पारेका छन् । यस्तै सभामुख अग्नि सापकोटाले पनि अवैधरुपमा संविधान संशोधन गर्ने प्रयास भएको भन्दै बैठकमा सहभागी नहुने बताइसकेका छन् ।
प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठकमा ओलीसहित राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी हुने सम्भावना छ ।
गत ३० मंसिरमा अध्यादेशका भरमा भएको नियुक्ति विरुद्धको मुद्दा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जबराकै संवैधानिक इजलासमा विचाराधीन भएको अवस्थामा उनी पनि बैठकमा सहभागी हुन नमिल्ने कानूनविद्हरुले बताउँदै आएका छन् ।
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चाल्दै संवैधानिक परिषदको बैठक बोलाएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत हिजो एक विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आफ्नो कार्यकालमा तेस्रो पटक ल्याएका हुन् ।
गत वर्षको वैशाख १२ गते पनि उहाँले ४ जना सदस्यमात्र भए बैठक बस्न सक्नेगरी अध्यादेश ल्याएका थिए ।