‘निषेधाज्ञाले ५० प्रतिशत घट्यो तरकारी खपत’
काठमाडौं । बजारमा हरियो तरकारीको खपत ५० प्रतिशतले घटेको तथ्यांकहरु आएका छन् । सरकारले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण गर्न निषेधाज्ञा गरेसँगै बजारमा हरियो तरकारीको खपत ५० प्रतिशतले गिरावट आएको हो ।
बजारमा तरकारीको माग नै कम भएकाले ५० प्रतिशतले कारोबार घटेको कालिमाटी फलफूल बजार विकास समितिले बताएको छ । राती १ बजेदेखि बिहान ९ बजेसम्म मात्र कालिमाटी बजार खुल्ने गर्छ । सो अवधिमा तरकारी ल्याएर बिक्री गरिसक्नुपर्ने हुन्छ । सीमित समयभित्र किसानले तरकारी ल्याएर बिक्री गर्नुपर्ने भएकाले पनि कारोबार घटेको समितिले बताएको छ ।
समितिले दिएको जानकारी अनुसार कोभिडका कारणले बजारमा तरकारीको खपत र मूल्य घटेको छ ।सामान्य अवस्थामा ८ सयदेखि ९ सय टन तरकारी भित्रने गरेकोमा अहिले ४ देखि ५ सय टन भित्रिएको बताइएको छ ।
सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रीको कारोबार हुने गरेकोमा ५० प्रतिशतले गिरावट आएको समितिले जनाएको छ । तरकारीको आयात कम भएसँगै मूल्य पनि घटेको छ । तरकारीको पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खुला हुने गर्छ । सीमित सममा तरकारी बिक्री गर्नुपर्ने भएकाले बिग्रन सक्ने भन्दै व्यवसायीले सस्तो मूल्यमा भए पनि बिक्री गर्दै आएका छन् ।
अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौँला, लौकालगायत सिजनका तरकारी स्वदेशी उत्पादनका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ ।
बजारमा अधिकांश हरियो तरकरीको मूल्य घटेको छ । कालिमाटी होलसेल मूल्यमा आधाले घटे पनि खुद्रा पसलमा भने अझै मूल्य घट्न सकेको छैन । किसानले बजारमा तरकारी ल्याउन नसकेर विभिन्न जिल्लामा बारीमै फालेका छन् ।