‘काठमाण्डौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिस’
काठमाडौं । कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि भन्दै काठमाण्डौं उपत्यकामा अझ १५ दिन निषेधाज्ञा थप गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले सिफारिस गरेको छ ।
डीसीसीएमसीमा काठमाण्डौं उपत्यकाका नगरपालिकाका प्रमुख र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी समाविष्ट छन् ।
सोमवार डीसीसीएमसीको बैठक बसेको थियो । पुनः १५ दिन काठमाण्डू उपत्यकामा निषेधाज्ञा थप गर्न डीसीसीएमसीले सिफारिस गरेको हो । डीसीसीएमसीको सिफारिसबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निणर्य गर्नेछ ।
कोरोनाभाइरस सङ्क्रमण फैलिने गति तीव्र हुँदै गएपछि गत वैशाख १६ गते एक हप्ताका लागि निषेधाज्ञा लगाइएको थियो ।
पछि त्यसलाई कडा बनाउँदै एक हप्ता थपेर वैशाख मसान्तसम्मका लागि बढाइएको थियो ।
निषेधाज्ञाका ११ दिनमा लगभग ८२ हजार सङ्क्रमित थपिएका छन् भने ५०९ जनाको मृत्यु भएको छ ।