राजनीतिक अभियानकर्मी उज्ज्वल थापालाई देशविदेशबाट सहयोग र सद्भावको ओइरो
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण गम्भीर अवस्थामा उपचार भइरहेका विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाप्रति देश तथा विदेशबाट व्यक्त सद्भाव उनको राजनीतिक र सामाजिक कामको परिणाम भएको चर्चा भइरहेको छ ।
राजनीतिक मामिला र समाजशास्त्रका विज्ञहरूका अनुसार स्वतःस्फूर्त रूपमा थापाको स्वास्थ्य उपचारका लागि देशविदेशबाट जुटेको आधा करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोगको अर्थ त्यस्तो रकमभन्दा पनि धेरै अर्थपूणर् छ ।
आफूलाई राजनीतिक अभियानकर्मी बताउने थापाको अध्यक्षतामा सन् २०१३ मा विवेकशील नेपाली पार्टी स्थापना भएको थियो । उनले सन् २०१९ को अक्टोबर महिनामा उक्त जिम्मेवारी छाडेका थिए ।
कोभिड-१९ भएपछि जेठ महिनाको सुरुमा अस्पतालमा भर्ना भएका उनको पछिल्लो अवस्था गम्भीर रहेको बताइएको छ । उनको कोभिड रिपोर्ट भने नेगेटिभ आइसकेको बताइएको छ ।