वैकल्पिक राजनीतिक धारका अभियानकर्मी उज्वल थापाको निधन
काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक नेता उज्वल थापाको मङ्गलवार निधन भएको परिवारले जनाएको छ।
वैकल्पिक राजनीति र युवा नेतृत्वका लागि अभियान चलाएका ४४ वर्षीय थापा कोरोनाभाइरस सङ्क्रमित भएर काठमाण्डूको मेडिसिटी अस्पतालमा उपचाररत थिए।
“विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्वसंयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, उज्वलबहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद (२०७८ साल जेठ १८ गते, अपराह्न ४ः२५ बजे) हामीबीच रहनु भएन,” थापाको परिवार र शुभेच्छुकको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
अन्तिम पटकको कोरोनाभाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको बताउँदै परिवारले थापाको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने इच्छा व्यक्त गरेको छ ।
विज्ञप्तिमा भनिएको छः “युवाहरूलाई राजनीतिको मूलधारमा समावेश गर्न उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ।”