‘निषेधाज्ञाका कारण धादिङको चेपाङ बस्तीमा अनिकाल, बालबालिका र वृद्धवृद्धा सबै भोकभोकै’
धादिङ । दक्षिणी धादिङको चेपाङ बस्तीहरुमा अनिकाल सुरु भएको छ ।
खोरिया खनेर उत्पादन गरेको अन्नपातले मुस्किलले पाँच महिना खान पुग्छ । अन्य समयमा अभाव र भोकसँग जुध्दै आइरहेका छन् ।
हिँडडुल गर्न सक्नेहरु त जंगलतिर पुगेर आरु र आँप खाएर पनि भुलिन्छन्, तर बाला बृद्धा भने भोकभाकै भएका छन् ।
धादिङको जिरवाङ, गोठेभन्ज्याङ, यारबाङ, रोतेस, भुमीडाँडा, बोम्राङ, मान्बुङ, दुङवाङको सामूहिक समस्या हो । यस भेगका करिब एक सय ५० परिवार भोकमरीको चपेटमा छन् । निषेधाज्ञाका कारण दैनिक ज्यालादारीको काम पनि रोकिएको छ । बारीको उब्जनी पनि सकिएको र काम गर्न पनि नपाएका कारण यस भेगका स्थानीय भोकभोकै परेका हुन् ।
बेनिघाट रोराङ गाउँपालिका- ६, ८ र २ का अधिकांश गाउँमा अहिले अनिकालको चपेटामा छ । त्यस क्षेत्रका चेपाङ समुदाय ठिठ्ठा र टाँकी मुन्टाकै भरमा जीवन धानिरहेका छन् ।
गत वर्ष कोरोना माहामारीको संक्रमण रोक्न गरिएको बन्दाबन्दीले रासायनिक मल अभावका कारण मकै उत्पादन कम हुँदा अनिकालको अवस्था सिर्जना भएको नेपाल चेपाङ संघ, धादिङका अध्यक्ष तथा खाद्य अधिकार जिल्ला सञ्जाल धादिङका सदस्य भीम बहादुर चेपाङले बताए । ‘आफ्नो उब्जनीले वर्षभरी खान नपुग्ने र कोरोना महामारीले मजदुरी गर्न नपाएपछि यस भेगका चेपाङ समूदायमा छाक टार्न मुस्किल छ’, उनले भने, ‘टाँकीको मुन्टा, कोइरालो, सिब्लिगान, लट्टेको साग र गिठ्ठा, भ्याकुर लगायत कन्दमुलको भरमा चेपाङहरुले सास अड्याइरहेका छन् ।’