‘नेपाल प्रहरीले विभूषण र तक्मा बापत अंक नपाउने !’

काठमाडौं । सरकारले दिने विभूषण, तक्मा र अलंकार वापत प्रहरी कर्मचारीले पाउने अंक खारेज हुने भएको छ ।
कार्यसम्पादन मूल्यांकनमा अंक जोडिने भएकाले विभूषण लिन अस्वस्थ प्रतिष्पर्धा बढेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालय, नक्सालले विभूषण वापतको अंक खारेज गर्ने प्रस्ताव गृह मन्त्रालयमा लगेको थियो । त्यसअनुसार गृहले यसवापत पाइने २ अंक हटाउने गरी प्रहरी नियमवाली संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लगेको हो ।
मन्त्रिपरिषद्मा तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल बढाउन दुई दर्जा थप्ने प्रस्ताव पनि निर्णायार्थ पेश हुँदैछ । महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीमा तल्लो दर्जाको कर्मचारीको मनोबल र समस्याबारे अध्ययन पनि गराएका थिए । त्यहीअनुसार यो निर्णय हुन लागेको हो ।
गृहबाट गएको निर्णयमा अर्थ मन्त्रालय र लोक सेवा आयोगले स्वीकृति दिइसकेको छ । यो प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भए प्रहरीमा प्रहरी नायब निरीक्षक (सई) र प्रहरी निरीक्षकको बीचमा वरिष्ठ सई तथा जवान र प्रहरी सहायक निरीक्षक (असई) को बीचमा सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थप्ने प्रस्ताव गरिएको थियो ।