‘पनौती नगर क्षेत्रका सहकारीले ऋणी सदस्यलाई व्याजमा १० प्रतिशत छुट दिनुपर्ने’
काभ्रे । पनौती नगरपालिकाको सहकारी विकास समितिले सहकारीका ऋणी सदस्यको वैशाख, जेठ र असार महिनामा लाग्ने ब्याजमा १० प्रतिशत छुट दिन निर्देशन दिएको छ । नगरपालिकाको नियमन क्षेत्राधिकारभित्रका सहकारीले ऋणी सदस्यलाई सोही अवधीमा लाग्ने हर्जना मिनाहा र ब्याजमा १० प्रतिशत छुट दिनुपर्ने भएको छ ।
नगरपालिकाको सहकारी विकास समिति अन्तर्गत रहेको बचत तथा ऋण उपसमितिको जेठ २९ गते बसेको भर्चुअल बैठकले यस्तो निणर्य गरेको हो ।
कोरोना भाईरस (कोभिड-१९) महामारीको दोस्रो लहरले सिर्जना गरेको विषम परिस्थितिमा सहकारी संस्थाको भावि योजना तथा ऋण व्यवस्थापन विषयमा छलफल गर्न आयोजित बैठकले सहकारीलाई पाँच बुँदे निर्देशन जारी गरेको छ ।
नगरपालिकाको सहकारी शाखाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले हस्ताक्षर गर्नुभएको निर्देशनमा सहकारीलाई असार १ गतेबाट स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर सीमित जनशक्तिमार्फत सेवा प्रवाह गर्न भनिएको छ ।
यसैगरी कोरोना नियन्त्रण गर्न प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवधिमा भाखा नाघेर ऋण तिर्न नसकेका सदस्यले अनुरोध गरेको अवस्थामा उनीहरुलाई बढीमा ६ महिना सम्म ऋण तिर्ने भाखा थप गर्न सहकारीलाई निर्देशन दिएको छ ।
नगरपालिकाले सहकारीलाई आफ्ना सदस्यलाई राहत सुविधा उपलब्ध गराउन विपत् व्यवस्थापन कोष स्थापना गर्न निर्देशन दिएको छ ।