१७ मंसिर २०८१, सोमबार / Mon Dec 2, 2024

‘मेलम्चीमा बाढी वितण्डा : काठमाडौंमा खानेपानीको समस्या पुनः विकराल हुने अनुमान’


सिन्धुपाल्चोक । गत साता मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची खानेपानी परियोजनाको मुहानमा ठुलो क्षति पुगेको छ । मुहान मेलम्ची बजारमाथिको अम्बाथान भन्ने ठाउँमा छ । बाढी गएको दुई साता बितिसक्दा समेत त्यहाँ कोही पुग्न सकेका छैनन् ।
मुहान रहेको अम्बाथान पुग्ने सडक मार्ग नै क्षतविच्छेद भएकाले कोही पनि त्यहाँ जान नसकेका हुन् । ड्रोनबाट खिचिएको अम्बाथानको फोटोबाट समेत मेलम्ची खानेपानी परियोजनाको मुहान (हेडवक्र्स) को क्षतिको आँकलन हालसम्म गर्न सकिएको छैन ।
खानेपानीको मुहानमा पुगेको क्षतिको प्रारम्भिक आँकलन मात्रै गर्दा पनि सहजै खानेपानी पुनः काठमाडौं आउने आँकलन गरिएको छैन । स्थानीयले बताएअनुसार सुरङको मुहानलाई ३० फिट जति अग्लो माटो र ग्रेगरको थुप्रोले पुरेको छ । तर भाग्यवशः त्यहि दिन बिहान ११ बजेदेखि बन्द गरिएकाले सुरुङमा भने क्षति नपुगेको प्रारम्भिक अनुमान छ । प्राविधिक रुपमा अहिलेसम्म त्यसको पनि जाँच गरिएको छैन । सुरुङ बाहिरको मुहानको सबै संरचना भने लेदो माटोले पुुरिएको छ ।
त्यहि दिन दिउँसोदेखि सुरुङ बन्द गर्ने कार्यक्रम र योजना धेरै अघि बनाइएको थियो । लगत्तै बाढी आएकाले सुरुङ जोगिएको छ । सम्भवतः बाढी पसेको भए सोचेकोभन्दा बढी क्षति हुने केयुकेएलका अधिकारीहरुले बताएका छन् । त्यहाँका अधिकारीहरू क्षतिको आँकलन गर्न तीन पटक मेलम्ची बजारसम्म पुगे पनि त्यहाँबाट माथि जान नसकेपछि फर्केका थिए ।
उनीहरूले सरकारको परियोजना भएकाले नेपाली सेनाको सहयोग लिएर मेलम्चीको मुहानमा पुग्नुपर्ने योजना बनाएका छन् । तत्काल उपाय लगाएर नहर र मुहानको सफाई तथा मर्मत नगरे काठमाडौंमा खानेपानीको समस्या पुनः विकराल हुने अनुमान गर्न थालिएको छ ।
त्यो दिनको बाढीले चिनियाँ, भारतीय र नेपाली गरेर ८ जना प्राविधिक तथा कर्मचारीलाई बगाएको थियो । २ जना चिनियाँको लाश फेला परे पनि अरु ६ जनाको हालसम्म कुनै अत्तोपत्तो छैन ।
रातको समयमा मुहानमा काम गरिरहेका ती प्राविधिकलाई बाढीले बगाएको बताइन्छ । बाढी आएको थाहा पाएपछि अत्तालिएर रातको समयमा उकालो डाँडातिर लागेका जति जोगिएको देखिन्छ । तर, सडकबाट दौडने अरुलाई भने बगाएको थियो । कार्यरत नेपालीहरू अधिकांश भीरतिर लागेका तर चिनियाँ र भारतीय प्राविधिक तथा कामदारहरू भने मेलम्ची खोलाको किनारमा रहेको सडक हुँदै भाग्दा बाढीले बगाएको थियो । चिनियाँहरू सबै सिनो हाइड्रोका कामदार रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि