‘नेपालमा १० लाखले लगाए कोभिड खोपको पूर्ण मात्रा, कोभिशिल्डको दोश्रो मात्र अन्योलमै’
काठमाडौं । पछिल्लो समय सरकारले प्रशस्त मात्रामा कोभिड खोप ल्याउन नसकेको भनेर आलोचना भइरहेका छन् । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार अहिलेसम्म नेपालमा पूणर् मात्रा कोभिड खोप लगाउनेको संख्या शनिवारसम्म १० लाख १७ हजार ५९६ पुगेको छ । अहिलेसम्म नेपालमा कोभिशील्ड र भेरोसेल खोप मात्र वितरणमा आएका छन् ।
कोभिशील्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
शुक्रवार नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी’ कोभिड-१९ को खोप निःशुल्क उपलब्ध गराउन लागेको बताएका थिए ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले जोनसन एन्ड जोनसन कम्पनीको उक्त खोप सोमवार नेपाल आइपुग्ने आफ्नो फेसबुकमार्फत् जनाकारी दिएका छन् ।
केही समयदेखि अमेरिकाले एक मात्रा लगाए पुग्ने जोनसन एन्ड जोनसन खोप नेपाललाई दिन लागेको बताइएको थियो ।
चीनको सिनोफार्म कम्पनीसँग गरिएको खरिद सम्झौता अनुरूप ४० लाख मात्रा कोभिड खोपमध्ये आठ लाख मात्रा शुक्रवार नेपाल ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।