‘अफगानिस्तानमा तालिबान लडाकुको हमला जारी, राजधानी काबुलको नजिक पुगेको दाबी’

तालिबानले हाल अफगानिस्तानका झन्डै आधाजसो क्षेत्रीय राजधानी आफ्नो नियन्त्रणमा लिइसकेको बताइएको छ ।
तालिबान लडाकु समूहले अफगानिस्तानका एक पछि अर्को सहर आफ्नो नियन्त्रणमा लिएसँगै हजारौँ सर्वसाधारणहरू तुलनात्मक रूपमा सुरक्षित राजधानी काबुल पुगेका छन् ।
उक्त लडाकु समूह पनि हाल काबुल नजिक पुगेको बताइएको छ ।
अमेरिकाले काबुल प्रान्त प्रवेश गर्ने क्षेत्रमा तालिबान लक्षित हवाई हमला गरेको विवरणहरू आइरहेका छन् ।
अमेरिकी गुप्तचर निकायले तालिबानले ३० दिनभित्र अघि बढ्ने प्रयास गर्न सक्ने आकलन गरेको बताइएको छ ।
पछिल्लो हप्ता तालिबानले तीव्र गतिमा देशका विभिन्न स्थानहरूमा आफ्नो पकड जमाउँदै गएको छ । हिजो तालिबानले पुल-ए-आलम नियन्त्रणमा लिएको थियो जुन सङ्घीय राजधानी काबुल भन्दा ८० किलोमिटर टाढा छ ।
काबुल भन्दा ४० किलोमिटर टाढा रहेको अर्को एक सहरमा हिंसात्मक भिडन्तहरू भइरहेको बताइएको छ । एक जना स्थानीय सांसदले समाचार संस्था एपीलाई तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुलबाट ११ किलोमिटर पर रहेको दक्षिणी सहरमा पुगेको बताएका छन् ।
सरकारले यो सूचना पुष्टि गर्योभने तालिबान हालसम्म सबैभन्दा नजिक पुगेको अवस्था हो र उक्त लडाकु समूहलाई काबुल पुग्न नदिन खोजिरहेको अफगान सुरक्षा फौजका लागि अर्को ठूलो झड्का हो ।
दशौँ हजार अफगान नागरिक युद्धका कारण विस्थापित भएका छन् । तालिबानले हाल अफगानिस्तानका झन्डै आधाजसो क्षेत्रीय राजधानी आफ्नो नियन्त्रणमा लिइसकेको छ जसमा उक्त देशको दोस्रो ठूलो सहर कान्दहार सहित अन्य केही महत्त्वपूणर् केन्द्रहरू समेत समावेश छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर जान लागेको र युद्ध जारी रहे त्यसको सबैभन्दा ठूलो मूल्य सर्वसाधारणहरूले चुकाउनु पर्ने बताएका छन् ।
तालिबानका अग्रपंक्तिमा रहेका कमान्डर तथा सेनाले इस्लामिक शरिया कानुनको आफ्नो संस्करण पुनः लागु गराउने विषयमा आफूहरू कटिबद्ध रहेको बताएका छन् ।
उक्त कानुनमा १२ वर्षभन्दा माथिका महिलाहरूलाई विद्यालय जानबाट रोक्ने, चोरीको आरोप लागेकाहरूको हात वा खुट्टा काटिदिने र यौन व्यभिचार गर्नेहरूलाई ढुङ्गाले हान्ने जस्ता प्रावधान छन् ।