काभ्रेको बनेपाका प्राध्यापक नकर्मीले अमेरिकामा पाए १ लाख ५९ हजार डलरको पुरस्कार

अमेरिकामा भौतिक शास्त्रका एकजना प्राध्यापकले १ लाख ५९ हजार डलर राशीको पुरस्कार पाएका छन् ।
काभ्रेको बनेपा घर भएका न्युयोर्कको ब्रुकलिन कलेजमा कार्यरत भौतिक शास्त्रका प्रा. डा. मिमलाल नकर्मीले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउन्डेशनबाट १ लाख ५९ हजार डलर (करिब १ करोड ८९ लाख रुपैयाँ) राशीको पुरस्कार पाएका हुन् ।
एनएसएफ अमेरिकाको संघीय सरकार मातहतको राष्ट्रिय विज्ञान प्रतिष्ठान हो । वैज्ञानिक अनुसन्धानको लागि दिने एनएसएफ अवार्डलाई निकै प्रतिष्ठित मानिन्छ र यो पाउन निकै प्रतिस्पर्धा हुने गर्छ । उनले पाएको पुरस्कार सेप्टेम्बर २०२१ देखि दुई वर्षको लागि हो ।
नकर्मीले अमेरिकाको क्यान्सस स्टेट युनिभर्सिटीबाट भौतिक शास्त्रमा विद्यावारिधि गरेका छन् भने ब्रुकलिन महावद्यिालयमा सन् २००७ देखि प्राध्यापन र अनुसन्धान गरिरहेका छन् । नकर्मीले अमेरिका आउनु अघि करिब ६ वर्ष काठमाडौं विश्व विद्यालयमा प्राध्यापन गरेका थिए ।
