खानेपानीको पिरलो : धुलिखेलले अब के गर्ने ?
जगन्नाथ गिरी, पूर्व प्रहरी निरिक्षक (अ.प्रा.)
धुलिखेल न.पा. वडा नं. ४
काभ्रे जिल्लाका ६ वटा नगरपालिकामध्ये पुराना नगरपालिकाका रुपमा चिनिएका धुलिखेल, बनेपा र पनौती नगरपालिकाका साझा समस्या धेरैवटा छन् । तीमध्थे एउटा साझा समस्या खानेपानीको हो । यी तीनवटा नगरपालिकामध्ये खानेपानीको सुविधा भएको नगरपालिकाका रुपमा धुलिखेल नगरपालिकालाई लिने गरिन्छ । तर धुलिखेल नगरपालिकाभित्र पनि उपभोक्ता समिति र उपभोक्ताका बीचमा रहेको विवाद कहिलेकाही बाहिर आउने गरेको छ ।
तीनवटा नगरपालिकाका हजारौ बासिन्दालाई चौबिसै घण्टा गुणस्तरीय खानेपानी आदानप्रदान गर्ने लक्ष्य राखेको काभ्रे उपत्यका एकिकृत खानेपाी आयोजना सफल हुने हो कि असफल हुने हो भन्ने विषयमा अचेल चर्चा-परिचर्चाहरु भईरहेका छन् । त्यो आयोजनाका लागि धुलिखेल नगरपालिकाले करिब साढे १० करोड रुपियाँको ऋण बोकेको छ । एकातिर यस्तो स्थिति छ भने अर्कातिर काभ्रे उपत्यका खानेपानी आयोजना सम्पन्न भएपछि त्यसमा धुलिखेल खानेपानी उपभोक्ता तथा सरसफाई समितिलाई मर्ज गराउने नीति घोषणा गर्ने र एकीकृत खानेपानी आयोजनामा धुलिखेल खानेपानी उपभोक्ता समिति मर्ज नहुने वातावरण पनि बनाउने दोहोरो कार्य भईरहेको छ भन्ने आवाज पनि उठिरहेको छ । यस्तो बेलामा धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको व्यवस्थापन पक्षलाई चुस्त दुरुस्त र पारदर्शी बनाई सम्पूणर् उपभोक्ताको हितमा समर्पित रहेर यसले बनेपा र पनौती नगरपालिकाका लागि मात्र होइन, नेपालकै नमुना खानेपानी आयोजना मानिएको नाताले नेपालभरिकै लागि उदाहरण बन्नुपर्ने कुरामा कुनै द्विविधा छैन ।
धुलिखेलकै कुरा गरौँ । विदेशी नागरिक पिटर स्पानिया र तत्कालिन जिल्ला पञ्चायत सभापति स्व. रामचन्द्र अधिकारीको सल्लाह र सहयोग एवं समाजसेवी बेलप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको स्थानीय समाजसेवी समुहको सक्रियतामा उहाँहरुकै संकल्प र समर्पणका कारण धुलिखेलले खानेपानीको समस्याबाट मुक्ति पाउने बाटो पायो र धुलिखेल खानेपानी आयोजनालाई नमुना पनि मानियो । धुलिखेल नगरपालिका क्षेत्रका हरेक बासिन्दा यसका लागि उहाँहरुप्रति कृतज्ञ छन् र यस क्षेत्रको बासिन्दा हुन पाएकोमा गौरवान्वित पनि छन् । तैपनि धुलिखेल नगरपालिका क्षेत्रभित्रका उपभोक्ताहरुलाई स्वस्थ खानेपानी उपलब्ध गराउने उद्देश्यले गठन गरिएको धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको व्यवस्थापन पक्षले आफ्नो उद्देश्यअनुरुप कार्य गर्न सकिरहेकै छैन भन्न सकिने आधारहरु अचेल प्रशस्तै देखिन थालेका छन् । उदाहरणका लागि –
- समितिबाट पर्याप्त मात्रामा पानी संकलन हुन सक्ने केन्द्रहरु बनाउन सकिएको छैन,
- नगरपालिका क्षेत्रभित्रका सबै ठाउँमा खानेपानीका पाइप-लाइनहरु विस्तार गर्न सकिएको छैन,
- भएका पाइप-लाइनहरुमा पनि खानेपानीको वितरण-प्रणाली सन्तुलित छैन,
- खानेपानीका स्थानीय स्रोतहरु पत्ता लगाएर तीनलाई राम्ररी उपयोग गर्न सकिएको छैन,
- उपभोक्ताहरुको संख्या बढिरहेको भए पनि खानेपानीको मात्रा वृद्धि गराउन सकिएको छैन,
- सबै वडाहरुमा आवश्यक मात्रामा पानी अट्ने ओभरहेड ट्यांकीहरु बनाउनुपर्नेमा त्यो पनि हुन सकिरहेको छैन ।
स्वास्थ्यवद्र्धक र स्वच्छ खानेपानी जनताको अधिकार हो भन्ने कुरा सरकारले नै स्विकार गरिसकेको अवस्थामा आफ्नो नगरपालिका क्षेत्रभित्रका पानी नआउने ठाउहरुमा ट्यांकरबाट भए पनि पानी वितरण गर्नै पर्ने दायित्व सम्बन्धित नगरपालिका क्षेत्रको उपभोक्ता समितिको हो । तर धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो दायित्व बिर्सेको अनुभव हुन थालेको छ । आवश्यक परे वर्षाको समयमा खेर गएको पानीलाई प्रशोधन गरी सुख्खा याममा प्रयोगमा ल्याउन सकिन्थ्यो, समितिले त्यसतर्फ पनि ध्यान दिइएको पाइएन । उपभोक्ता समितिले शुल्क लिएर पनि धारा जडान नगर्ने र आवश्यकताका आधारमा समानुपतिक ढंगबाट धाराहरुमा पानी वितरण नगर्ने कुरा त नगर क्षेत्रका बासिन्दाहरुलाई थाहा छँदैछ । उपभोक्ता समितिको विरोधमा उपभोक्ताहरु नै आन्दोलित हुन बाध्य हुनुपरेको र नगरपालिका क्षेत्रभित्रकै बासिन्दाले खानेपानीको पाइप-लाइन काटिदिएको तीतो सत्य पनि भोगिएकै र देखिएकै हो ।
उपभोक्ता समिति र उपभोक्ताहरुका बीचमा यदाकदा विवादहरु उत्पन्न भइहेको हाल पनि सुनिन्छ । ती विवादहरु साम्य पार्न केही कामहरु गर्न सकिन्छ । जस्तै :
- आवश्यकताअनुसार खानेपानीको समानुपतिक वितरण गर्ने,
- चुहावट नियन्त्रणका लागि मुख्य तथा सहायक पाइप-लाइनहरुलाई व्यवस्थित गरेर कनेक्सन प्वाइन्टहरुमा मर्मत-सम्भार गर्ने र नियमित अनुगमन गर्ने,
- सबै धारालाई करको दायरामा ल्याएर बाँकी बक्यौता पनि उठाई खानेपानीको वितरणसम्बन्धी उपयुक्त व्यवस्था गर्ने ।
- थप जनशक्ति र स्वयंसेवकको व्यवस्था गर्ने ।
- सम्पूणर् उपभोक्ताहरुका बीच समन्वय र अन्र्तक्रिया गर्ने,
- पानी वितरण गर्ने समय-तालिका बनाई त्यसलाई कार्यान्वयन गर्ने,
- कलाँती भूमिडाँडाका बासिन्दाहरुबाट धुलिखेलका लागि उपहारस्वरुप प्रदान गरिएको मुहानबाट आएको खानेपानीको मात्रा, जम्मा भएको मात्रा र धुलिखेलका उपभोक्तामा वितरण भएको मात्राको तथ्यांक दुरुस्त राख्ने ।
धुलिखेल खानेपानी आयोजनाको गठन भएको २४ वर्षसम्म पनि अल्पकालीन र दीर्घकालीन योजना बन्न नसक्नु अनि प्रतिबद्धता तथा क्रियाकलापमा एकरुपता नहुनु आश्चर्यको कुरा हो । हरेक वर्षको लेखापरीक्षण प्रतिवेदन तयार गर्ने क्रममा लेखापरीक्षकले औँल्याएका त्रुटिहरु र दिएका सुझावहरुलाई बेवास्ता गर्नु पनि अनौठो लाग्छ । ‘मुहानदेखि मुखसम्म’ भन्ने नारा केबल नारामा सिमित रहन थालेको यथार्थलाई पनि उपभोक्ता समिति र उपभोक्ताहरुले मनन गर्नु आवश्यक देखिन्छ । धुलिखेल भनेको धुलिखेल बजार मात्रै हो भन्ने गलत सोचबाट मुक्त हुन नसकेसम्म धुलिखेल नगरपालिका क्षेत्रका यावत समस्याहरुको समाधान हुन सक्तैन र जनसहभागिता पनि जुट्न सक्तैन ।
उपभोक्ता समिति आम उपभोक्ताभन्दा माथि हुन सक्तैन । त्यसले त आम उपभोक्ताले दिएको निर्देशन र बनाएको नीतिलाई कार्यान्वयन तहमा लैजाने मात्रै हो । अन्ततः काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाभित्र धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले मर्ज हुनु नै छ । किनभने अहिलेको परिवेशमा धुलिखेल बजार एक्लै बाँच्न सक्तैन, धुलिखेल नगरपालिका क्षेत्र पनि बनेपा र पनौतीबाट पूणर्तया अलग्गिएर एक्लै अस्तित्व राख्न सक्तैन । पानीको मुहान भएको स्थानका बासिन्दाहरुसँग सम्बन्ध बिच्छेद गर्न पनि यो नगरपालिका असमर्थ छ । अर्कोतर्फ एकीकृत खानेपानी आयोजनाका लागि धुलिखेल नगरपालिकाले बोकेको ऋण पनि फस्र्यौट गर्नुछ । त्यसैले त्यसभन्दा अघि नै उल्लिखित अनुकरणीय कार्यहरु गरेर धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले काभ्रे जिल्लाको खानेपानीको इतिहासमा उदाहरण बन्नुपरेको छ ।
अन्त्यमा, मेरो आग्रह छ – नीति जे हो व्यवहार पनि त्यही अनुरुप गरौं र व्यवहार जस्तो गर्ने हो नीति पनि त्यसैअनुरुप बनाऔँ । दोहोरो मापदण्ड दिगो हुन सक्तैन भन्ने कुरामा पत्यार गरौँ ।