६ मंसिर २०८१, बिहिबार / Thu Nov 21, 2024

काभ्रेमा काङ्ग्रेसका क्रियाशील सदस्यले भोलि ‘१३५ वडा सभापति छान्दै’


नेपाली कांग्रेस जिल्ला समितिका १९ हजारभन्दा बढी क्रियाशील सदस्यले भोलि १३५ वडा सभापति चयन गर्दैछन्। १३ स्थानीय तह रहेको जिल्लामा १३५ वडा छन् ।
हप्तौँदेखि चुनावी सरगर्मी बढिरहेका अवस्थामा निर्वाचनको एक दिनअघिसम्म कुनै वडामा पनि वडा सभापतिमा सर्वसम्मत हुन सकेको छैन। मङ्गलबार हुने वडा निर्वाचनमा १९ हजार १० सदस्यले मतदान गर्न पाउने नेपाली कांग्रेस जिल्ला समितिले जनाएको छ ।
वडा निर्वाचनमा वडा सभापतिसहित २२ जनाको वडा कार्यसमिति चयन गर्ने नेपाली कांग्रेसका जिल्ला सचिव दिनेश लामाले बताए । उनले वडा निर्वाचनमा क्रियाशील सदस्य संख्या अनुपातमा १५ देखिमाथि क्षेत्रीय प्रतिनिधि चयनसमेत हुने जानकारी दिए ।
“आजसम्म वडा सभापतिमा सर्वसम्मत भएको घोषणा भएको छैन, भोलि केही वडामा हुनसक्ने पाइएको छ”, उनले भने। उनका अनुसार नेपाली कांग्रेस जिल्ला समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन् ।
पार्टीको निर्वाचन कार्यतालिकाअनुसार असोज ५ गते वडा अधिवेशन, ९ गते गाउँ, नगर, १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको छ। असोज ५ गते हुने वडा अधिवेशनका लागि केन्द्रीय निर्वाचन अधिकृतका रुपमा अधिवक्ता राजेन्द्र लामिछाने जिल्ला आई शनिबारदेखि तयारी थालेको जनाइएको छ ।
असोज ९ गते हुने नगर निर्वाचनमा बनेपा नगरपालिकाबाट दुई आकाङ्क्षीले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। वर्तमान नगर सचिव महेश कर्माचार्य र पार्टीको जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
जिल्ला सभापतिमा भने सात आकांक्षीमा वर्तमान सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, उपसभापति अच्युत पौडेल, सचिव दिनेश लामा, पूर्वसांसद तीर्थ लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाई र पाँचखाल नगरपालिका प्रमुख महेश खरेल रहेका देखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि