कार्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु, ‘लिपुलेक र कालापानीमा पनि जनगणना हुने’

काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको मुलगणना बिहीबारदेखि देशभर सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको केन्द्रीय तथ्यांक विभागले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
विभागले पहिलो चरणको सूचीकरण कार्यक्रम सम्पन्न भइसकेको र भोलिदेखि पहिलो चरणबाट छुटेका घर परिवारलाई समेत समावेश गरेर जनगणनाको मुलगणना कार्य सुरु गरिने बताएको छ । जनगणनाका लागि ४० हजार हारहारीमा गणक खटिनेछन् भने ८ हजार ५०० सुरपरीक्षेक पनि संलग्न हुनेछन् ।
जनगणनाका लागि सातै प्रदेशका साथै जिल्लास्तरका ८७ स्थानमा जनगणना कार्यालय स्थापना भएका छन् भने स्थानीय स्तरमा पनि ३४९ कार्यालय स्थापना भएको छ । जनगणना कार्तिक २५ गते सुरु भएर मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रुपमा आवत जावन गर्न दिएमा भौतिक रुपमा उपस्थित भएर जनगणना गरिने बताए । त्यसरी आवत जावत गर्न नदिएमा अन्य स्रोतहरुको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने उनको भनाइ छ ।
‘भारतीय सरकारबाट सहज आवत् जावन दिने र जनगणना गराउने अवस्था रह्यो भने हामी फिजिकली गएर त्यहाँ जनगणना गर्छाै । कारणवश गर्न नसकेको अवस्था रह्यो भने त्यत्तिकै छोड्ने हुँदैन । कालापानि, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको इन्फरमेशन हामीले अरु स्रोतहरुबाट र त्यहाँसँग सम्बन्धित अरु व्यक्तिहरुबाट या नजिक हाम्रो एक्सेस भएको ठाउँबाट लिदाखेरी लगभग ७०० देखि ८०० सम्मको हाराहारीमा जनसंख्या त्यहाँ रहेको छ भन्ने प्रारम्भिक कुरा हामीले प्राप्त गरेका छौँ’, उनले भने, ‘अहिले प्रविधिको विकास साह्रै राम्रो भएको छ । स्याटेलाइटहरु प्रयोग गरिकन ती क्षेत्रहरुमा कति घर छ भन्ने त सजिलैसँग काउन्ट गर्न सक्छौँ । एउटा घरमा एभरेज परिवार कति बस्दो रहेछ भन्ने ती विवरणहरु लिनपनि हामीलाई गाह्रो हुँदैन । यसरी त्यहाँको केही अनुमानहरु हामी निकाल्न सक्छौँ । त्यो अनुमान सहितको रिपोर्ट हामी प्रकाशन गर्नेछौँ ।’