कोरोना भाइरसको ‘डेल्टा भेरिअन्ट’ विरुद्ध पनि कोभिड खोप उत्तिकै प्रभावकारी

काठमाडौं । कोभिड खोपको पूणर् मात्रा नै भारतमा पहिले पत्ता लागेको डेल्टा भेरिअन्टबाट सुरक्षित रहन सबैभन्दा प्रभावकारी तरिका रहेको बताइएको छ ।
अक्सफोर्ड-अस्ट्राजेनेका खोप सुरुमा कम प्रभावकारी भए पनि खोप लगाएको चारदेखि पाँच महिनापछि फाइजर-बायोएनटेक जति नै प्रभावकारी हुने एउटा अध्ययनले देखाएको छ ।
तर यी दुवै खोप अल्फा भेरिअन्टमा जस्तो डेल्टा भेरिअन्टमा प्रभावकारी नरहेको सो अध्ययनले देखाएको छ । नेपालमा पनि डेल्टा भेरिअन्ट फैलिएको छ ।
यहाँ अस्ट्राजेनेकाको भारतीय उत्पादन कोभिशील्ड तथा जापानले दिएको अस्ट्राजेनेका, मोडेर्ना, चिनियाँ भेरोसेल र जोनसन एन्ड जोनसनका खोप दिइएको छ ।
मोडेर्ना खोपको पनि यस सम्बन्धमा यथेष्ट तथ्याङ्क नभएको बताइएको छ । तर अध्ययनकर्ताहरूले मोडेर्ना खोप पनि कम्तीमा अन्य खोप जत्तिकै प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।
सो निष्कर्ष सात लाख ४३ हजारभन्दा बढी व्यक्तिको २५ लाख परीक्षण नतिजाको अध्ययनबाट निकालिएको हो ।
अक्सफोर्ड विश्वविद्यालय र यूकेको राष्ट्रिय तथ्याङ्क कार्यालयले संयुक्त रूपमा कोभिड-१९ हाउसहोल्ड इन्फेक्शन सर्भे गरेका थिए ।