काभ्रेमा ‘कोअपरेटिभ म्यानेजर्स क्लब’ दर्ता, अध्यक्षमा विवेराज ठकुरी
काभ्रे । काभ्रेमा सहकारीमा कार्यरत व्यवस्थापकहको साझा थलोका रुपमा ‘कोअपरेटिभ म्यानेजर्स क्लब’ गठन भई दर्ता भएको छ ।
विगत केही समयदेखि नै काभ्रे जिल्लामा कार्यक्षेत्र भएका बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको नियमित बेला बसि अनुभव आदानप्रदान तथा क्लबको अवधारणामा अनौपचारिक कार्यहरु गर्दै आएको थियो । तर भदौ २ गतेबाट औपचारिक रुपमा जिल्ला प्रशासन कार्यालय काभ्रेमा ‘कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेपलाञ्चोक’ दर्ता भएको छ ।
संस्थाको कार्यक्षेत्र काभ्रे जिल्लाभरि रहने र मुख्य कार्यालय बनेपा नगरपालिका वडा नं. ७ मा रहने बताइएको छ ।
संस्थाले ६ महिनाभित्र प्रारम्भिक साधारण सभा गर्ने गरी तदर्थ समिति गठन गरेको छ । जसको अध्यक्षमा बुडोल सामुदायिक साकोसका प्रमुख कार्यकारी अधिकृत विवेराज ठकुरी, उपाध्यक्षमा ज्योति मिर्मिरे सामुहिक साकोसका गोपाल दाहाल, सचिवमा आर्थिक विकास मित्र साकोसका प्रबन्धक ठाकुरनाथ अधिकारी, कोषाध्यक्षमा आयाम साकोसकी प्रमुख कार्यकारी अधिकृत सविना पन्त, सदस्यहरुमा आभाष साकोसका प्रमुख प्रबन्धक सुवास वैद्य, महिला आधारशिला साकोसकी व्यवस्थापक यशोदा बोगटी, एक्सप्रेस साकोसका प्रमुख कार्यकारी अधिकृत अरुण थापा, लक्ष्मी महिला साकोसका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी, पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक गंगा दाहाल रहनुभएको छ ।
सबै प्रकृतिका सहकारीहरुमा कार्यरत कर्मचारीहरुको साझा थलोका रुपमा निर्माण गर्न व्यवस्थापन प्रमुखहरुको विभिन्न समयमा भएको भेला र बैठकबाट सहकारीको संस्थागत विकास, सुशासन र व्यावसायिक विकास गर्नका लागि संगठित संस्थाको परिकल्पनासहित ‘कोअपरेटिभ म्यानेजर्स क्लब’ गठन गरिएको अध्यक्ष विवेकराज ठकुरीले बताउनुभयो ।
यस्तो छ ‘कोअपरेटिभ म्यानेजर्स क्लब’ को उद्देश्य :
१) यो संस्था मुनाफारहित, जनहितकारी, गैर राजनीतिक सामाजिक संस्था हुनेछ ।
२) सहकारी संस्थाको लागि आवश्यक नीति, विधि र प्रविधिको विकास गर्ने ।
३) नयाँ नयाँ सोचहरुको विकास र आधुनिकीकरण गर्न अनुसन्धान र विकासका कार्यहरु गर्ने ।
४) अनुभव, अभ्यास, अप्ठ्यारा परिस्थिति, अभियानको चुनौती र आगामी कार्यदिशाका विषयमा छलफल एवं गतिविधि सञ्चालन गर्ने ।
५) सहकारी अभियानका विषयहरुमा बहस, पैरवी गर्ने कार्यका लागि विषय विज्ञका रुपमा सहकारी अभियानका नेतृत्वहरुलाई सघाउने ।
६) विभिन्न कार्यशाला, तालिम, गोष्ठी तथा छलफल कार्यक्रमहरु सञ्चालन गर्ने ।
७) अध्ययन, अवलोकन भ्रमण आयोजना गर्ने ।
८) सहकारी संस्थामा एकरुपता कायम गर्ने ।
९) सहकारीका व्यवस्थापक एवं कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य गर्ने ।
१०) राष्ट्रिय सहकारी महासंघ, प्रदेश सहकारी संघ, जिल्ला सहकारी संघ, विषयगत केन्द्रीय सहकारी संघ, विषयगत प्रदेश सहकारी संघ, जिल्ला विषयगत सहकारी संघ, राष्ट्रिय सहकारी बैंक तथा स्थानीय तह अन्तर्गतका सहकारी संघहरुसँग सहकार्य गरी विभिन्न कार्यक्रम गर्ने ।
११) सहकारी संस्था सञ्चालनका लागि आवश्यक नीति, निर्देशिका तथा कार्यविधिहरुको नमुना तयार पार्ने ।
१२) सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको रोजगारी सुनिश्चितताका लागि आवश्यक पहल कदमी गर्ने ।