मिलिजुली कालिञ्चोक साकोस स्थापनाको २८ वर्ष पूरा, यस्ता छन् संस्थाका उपलब्धी (हेर्नुहोस)
दोलखा । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका- ६ चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था स्थापनाको २८ वर्ष पुरा गरेको छ ।
२०५० साल भाद्र ७ गते संस्था स्थापना भई २०५० साल मंसिर २ गते संस्था दर्ता भएको थियो । संस्थाले भाद्र ७ गतेलाई स्थापना एवं कारोबार सञ्चालन दिवसको रुपमा मनाउँदै आएको छ ।
संस्थाले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा १७ जनाको उपस्थिती रहेको थियो । कोरोना माहामारीका कारण जारी निषेधाज्ञाका कारण रक्तदानमा उल्लेख्य सहभागिता हुन नसकेको बताइएको छ ।
त्यस्तै संस्थाले सम्मान तथा पुरस्कार २०७७/०७८ पनि घोषणा गरेको छ । जारी निषेधाज्ञाका कारण आगामी साधारणसभामा सम्मान र पुरस्कार वितरण गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेले जानकारी दिनुभयो ।
२६ जनाबाट सुरु भएको यस संस्थामा हाल २२ हजार ८ सय ८ जना सदस्य (१२०४३ महिला र १०७६५ पुरुष) आवद्ध भएका छन् । त्यस्तै ८ हजार ९ सय ११ जना बाल बचतकर्ता रहेका छन् । ५६ सय पुँजीबाट सुरु भएको संस्थाको २०७८ असार मसान्तसम्म आईपुग्दा कुल वासलात १ अर्ब २५ करोड पुगिसकेको छ । संस्थाको सेयर पूँजी ९ करोड १९ लाख २ हजार १ सय रहेको छ । त्यस्तै संस्थाले ८६ करोड ६७ लाख ८८ हजार बचत संकलन गरी ९२ करोड ५७ लाख ७८ हजार ऋण लगानी गर्न सफल भएको छ । संस्थाको कोषमा ९ करोड ९७ लाख ५३ हजार ७ सय ४१ रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।
दोलखा जिल्लाभर कार्यक्षेत्र रहेको यस संस्थाले मुख्य कार्यालय र ८ वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रवाह गरिरहेको छ । संस्थामा ४२ जना कर्मचारी कार्यरत छन् ।
संस्थाले कोभिडको समयमा सदस्यहरुलाई शत प्रतिशत हर्जना छुट र ब्याजमा १० देखि १५ प्रतिशत छुट गरेको थियो । त्यसतै बचतमा १ प्रतिशत थप गरेको संस्थाले जनाएको छ ।