४ मंसिर २०८१, मंगलबार / Tue Nov 19, 2024

जनसचेतन साकोसको २८ औं साधारण सम्पन्न, ‘दुर्गम क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउन सक्रिय’


दोलखा । दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले २८ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
२०७८ आश्विन १ गतेबाट सुरुवात भएको संस्थाको २८ औं बार्षिक साधारण सभामा ९ गते सम्ममा विभिन्न १६ वटा उपस्थिति केन्द्रहरुमा १३२६७ जना शेयर सदस्यहरुको तथा ५१९६ जना बाल बचतकर्ता गरि जम्मा १८४६३ जनाको उपस्थिति रहेको थियो । साधारण सभाकै अवधीमा ९६२ जना शेयर सदस्य तथा ६४८ जना बाल बचतकर्ताहरु गरी जम्मा १६१० जनाले नयाँ सदस्यता पनि लिनुभएको छ ।
कोरोना भाइरस महामारीको अवस्थालाई मध्यनजर गरी सहकारी विभागले जारी मार्गनिर्देशन तथा संस्थाको साधारण सभा सञ्चालन सम्बन्धी कार्यविधि २०७७ अनुसार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईंले २०५० साल आश्विन २२ गते ३४ जना शिक्षक, कर्मचारी, व्यवसायी र सामाजिक अभियन्ताहरुको पहलमा संस्था स्थापना भएको स्मरण गरे । त्यसयता संस्था निरन्तररुपमा सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक स्तर वृद्धि गरी समुन्नत समाज निर्माण गर्ने लक्ष्यसाथ अघि बढेको उनले जनाए । संस्थाको छैठौंं रणनीतिक व्यवसायिक योजनाबाट ‘प्रविधियुक्त प्रतिष्पर्धी सुरक्षित वित्तीय संस्था’ को परिकल्पना गरी अघि बढेको उनले जानकारी दिनुभयो ।
संस्थाका वस्तु तथा सेवालाई गुणस्तरीय, दिगो, भरपर्दो, विश्वासिलो र परिणाममुखी बनाउन २०६५ सालमा एक्सेस ब्राण्ड कार्यक्रममा सहभागि भएको र २०६९ मा ब्रोञ्ज तथा २०७३ मा सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको उहाँले जनाउनुभयो । संस्थाले सदस्य सुरक्षा कार्यक्रम, छात्रवृत्ति, जनसचेतन आजीवन सहारा सम्मान तथा पुरस्कार, प्राकृतिक प्रकोप र स्वास्थ्योपचारमा आर्थिक सहयोग जस्ता थुप्रै सदस्यमुखी कार्यक्रम सञ्चालनमा ल्याएको उनले बताए । संस्थाले ७५ वर्ष माथिका सदस्यहरुलाई जनसचेतन आजीवन सहारा वापत मासिक ५०० रुपैया उपलब्ध गराउँदै आएको र गत आ.व. २०७७।७८ सम्म सो सुविधा लिने सदस्यको संख्या ७७ पुगेको उहाँले बताउनुभयो ।
संस्थाले भीमेश्वर नगरपालिका ६ को मुनाल साकोस, काभ्रे जिल्लाको बनेपामा रहेको रसिक बहुउद्देश्यीय सहकारीलाई एकिकरण गरी, संस्थाको कार्यक्षेत्र ५ जिल्लामा विस्तार गरेको छ । त्यसैगरी संस्थाले जिल्लाको उत्तरी क्षेत्रमा वित्तीय सुविधा र पहुँचका हिसाबले दुर्गम रहेको त्यहाँका बासिन्दालाई पहुँच पुर्‍याउन लघुवित्त कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
संस्थाले कार्यक्षेत्रभित्र सदस्यको माग र चापका आधारमा सदस्यता वृद्धि गर्ने, सदस्यहरुको सन्तुष्टि मुल्यांकन गर्ने, स्थिरिकरण कोषमा सहभागिता जनाउने, एटिएम कार्ड जारी गर्ने, सदस्यहरुको आम्दानी वृद्धिका लागि व्यवसायिक तालिमहरु सञ्चालन गर्ने, १८ देखि ४५ वर्ष उमेरसमुहका सदस्यहरुको उद्योग स्थापना गरी सञ्चालन गरेमा अन्य ऋणको तुलनामा २ प्रतिशत छुुट दिने, नयाँ बुहारी स्वागत कार्यक्रम सञ्चालन गर्ने र सदस्यहरुमा उद्यमशीलता विकास गर्न संस्थाको लगानीमा १० वटा व्यवसायिक योजना बनाई सदस्यहरुलाई उपलब्ध गराउने अध्यक्ष चौलागाईंले सभामा जानकारी गराउनुभयो ।
संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक मीनप्रसाद दाहालले आ. व. २०७७।०७८ को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो । संस्थाले गत असार मसान्तसम्म ३१ हजार २६३ सदस्यमार्फत १४ करोड ३३ लाख ८३ हजार शेयरपुँजी संकलन गरेको उनले बताए । त्यसैगरी संस्थागत पुँजी १६ करोड ३७ लाख ७९ हजार, बचत संकलन १ अर्ब ३५ करोड ९७ लाख, ऋण लगानी १ अर्ब ३८ करोड ६३ लाख, सञ्चालन बचत ३ करोड ३९ लाख ६८ हजार गरी कुल सम्पत्ति १ अर्ब ९३ करोड ६४ लाख पुगेको सभालाई जानकारी गराउनुभयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले सदस्यहरुको वित्तीय सेवाका लागि जनसचेतन एक विश्वासिलो र सुरक्षित संस्था बनेको बताउनुभयो । प्रविधियुक्त प्रतिस्पर्धी सुरक्षित वित्तीय सहकारी संस्था भन्ने परिकल्पना पुरा गर्न संस्थाले बनाएको नीति तथा कार्यक्रमहरुलाई कार्यान्वयनमा ल्याउन आफुहरु लागि परेको उहाँले बताउनु भएको थियो । सहकारी बैंक भन्दा फरक रहेको र सदस्य र समुदायलाई सेवा पुर्‍याउने भएकाले महामारीका अवस्थामा पनि १५ वटै सेवाकेन्द्रमार्फत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सदस्यहरुलाई निरन्तर सेवा प्रदान गर्दै आएको उहाँले बताउनु भयो । संस्थाले किस्को, क्यु आर कोड, मोबाइल बैंकिङ र फण्ड ट्रान्सफर जस्ता प्रविधिमैत्री सेवा समेत प्रदान गर्दैै आएको छ ।
संस्थाले २९ औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट हुने सदस्यहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्ने भएको छ । त्यसैगरी संस्थाले घोषणा गरेको रजत जयन्ती जनसचेतन राष्ट्रिय सहकारी अभियन्ता पुरस्कारबाट सहकारी क्षेत्रमा विशेष योगदान पुर्‍याएका अभियन्तालाई सम्मान गर्ने कार्यक्रम समेत रहेका प्रमुख कार्यकारी अधिकृत दाहालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि