५ मंसिर २०८१, बुधबार / Wed Nov 20, 2024

जिल्ला सहकारी संघ, काभ्रेको सेवा केन्द्र भकुण्डेबेशीमा


काभ्रे । जिल्ला सहकारी संघ लि.काभ्रेपलाञ्चोकले सदस्य सहकारी संस्थाहरुको विकास, प्रवद्र्धन र विस्तार गरी सेवा प्रवाह गर्ने उद्देश्यका साथ भकुण्डे बेशी चोकमा सेवा केन्द्रको सुरुवात गरेको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सेवा केन्द्रको विधिवत रुपमा उद्घाटन गरिएको हो । कार्यक्रममा बागमती प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टिकाबल्दभ सापकोटा, संघका सल्लाहकार तथा निवर्तमान अध्यक्ष विनोद पराजुली, कोअपरेटिभ मेनेजर्स क्लव काभ्रेका अध्यक्ष विवेकराज ठकुरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सहकारी आफैंमा आम नागरिकहरुको खरखाँचो टार्ने, दुःख सुखको सहाराको रुपमा रहेको हुँदा उत्पादनमूलक क्षेत्रमा स्थान दिँदै जीविकोपार्जनमा सहज गर्ने खालका योजना बनाई दुरदराजमा रहेका किसान तथा शेयर सदस्यहरुको जीवनस्तर उकास्न लाग्नुपर्ने धारणा राख्दै सहकारी क्षेत्रमा आफूले सहयोग गर्ने प्रतिवद्धता सहित शुभकामना व्यक्त गर्नुभएको थियो ।

तेमाल, महाभारत, रोशी गाउँपालिका तथा नमोबुद्ध नगरपालिकामा रहेका २ सय ६९ वटा सहकारी संस्थाहरुको लागि सेवा विस्तार गरी सहकारीलाई आवश्यक खातापाता, नीति, नियम, विधि, प्रविधि र क्षमता विकास लगायतका कार्यक्रममा सहयोग गर्ने संघको नीति अनुरुप सेवा केन्द्रको रुपमा जिल्ला संघ यस क्षेत्रमा आएको कुरा बताउँदै संघका अध्यक्ष दिलिप शर्माले सबैको साथ र सहयोगको लागि अनुरोध गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन संघका सचिव निरञ्जन विष्टले गर्नुभएको थियो भने स्वागत संघका सञ्चालक तथा सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक सुदर्शन अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा चार ओटा पालिकाका करिब ६० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि